तीन करोडको सुन र विभिन्न मुद्रासहित व्यापारी श्यामसुन्दर अग्रवाल पक्राउ
व्यापारी अग्रवालबाट दुई लाख १९ हजार ५०० रुपैयाँ , आठ लाख ११ हजार ९०० भारतीय रुपैयाँ, विभिन्न किसिमका सुन तथा चाँदीका गरगहनाको बट्टा र डिब्बा गरी १८५ थान अनुमानित तीन करोड बराबरको सुनचाँदीका गरगहना बरामद गरिएको हो ।
काठमाडौं । सुर्खेत प्रहरीले तीन करोड बराबरको सुनसहित व्यापारी श्यामसुन्दर अग्रवाललाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले १८ गते वीरेन्द्रनगर नगरपालिका-६ राजाचोक नजिकको ‘शिव ईम्पोरिय’ पसलबाट तीन करोड बराबरका सुनचाँदीका गहनासहित अग्रवाललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
व्यापारी अग्रवालबाट विभिन्न दरका नेपाली रुपैयाँ दुई लाख १९ हजार ५००, विभिन्न दरका भारतीय रुपैयाँ आठ लाख ११ हजार ९००, नगद रुपैयाँ गन्ती गर्न प्रयोग हुने मेसिन एक थान र विभिन्न किसिमका सुन तथा चाँदीका गरगहना राखिएको बट्टा (पोका) र डिब्बा गरी १८५ थान अनुमानित तीन करोड बराबरको सुनचाँदीका गरगहना बरामद गरिएको हो । पक्राउ परेका अग्रवालमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।