सर्वसाधारणलाई १० प्रतिशत सेयर दिनेगरि पीपीपी मोडेलमा वेस्ट सेती ४०० केभी प्रसारण आयोजना

करिब २० अर्ब रुपैयाँ लागत अनुमान, ३० प्रतिशत इक्विटी र ७० प्रतिशत ऋण लगानी

कम्पनीमा सरकारको ५१ प्रतिशत (आरपीजीसीएलको २६ प्रतिशत, चिलिमे जलविद्युत् कम्पनीको १२.५ प्रतिशत र चैनपुर सेती हाइड्रोपावर कम्पनीको १२.५ प्रतिशत) लगानी रहने छ । त्यस्तै निजी क्षेत्रतर्फ समृद्धि इनर्जीको २५.१ प्रतिशत, ङादी ग्रुप पावरको ७ प्रतिशत र स्युरी ङादी पावरको ६.९ प्रतिशत सेयर रहने छ ।

सर्वसाधारणलाई १० प्रतिशत सेयर दिनेगरि पीपीपी मोडेलमा वेस्ट सेती ४०० केभी प्रसारण आयोजना, पुँजी २० अर्ब

काठमाडौं । पश्चिम नेपालमा निर्माण हुने ठूला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडेलमा वेस्ट सेती ४०० केभी प्रसारण लाइन आयोजना अघि बढाइएको छ ।

आयोजना कार्यान्वयनका लागि ‘वेस्ट सेती ट्रान्समिसन लिमिटेड’ नामक विशेष प्रयोजन कम्पनी (एसपीभी)समेत स्थापना भएको छ । करिब २० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत इक्विटी र ७० प्रतिशत ऋण लगानी हुनेछ । गरिने छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपीजीसीएल) को सञ्चालक समितिले लगानी संरचना स्वीकृत गरेसँगै कम्पनी दर्ता प्रक्रिया पूरा भएको हो । वेस्ट सेती ट्रान्समिसन लिमिटेड २०८३ जेठ १३ गते औपचारिक दर्ता भइसकेको छ । 

कम्पनीमा सरकारको ५१ प्रतिशत (आरपीजीसीएलको २६ प्रतिशत, चिलिमे जलविद्युत् कम्पनीको १२.५ प्रतिशत र चैनपुर सेती हाइड्रोपावर कम्पनीको १२.५ प्रतिशत) लगानी रहने छ । त्यस्तै निजी क्षेत्रतर्फ समृद्धि इनर्जीको २५.१ प्रतिशत, ङादी ग्रुप पावरको ७ प्रतिशत र स्युरी ङादी पावरको ६.९ प्रतिशत सेयर रहने छ । बाँकी १० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कम्पनीका संस्थापक साझेदारहरूलाई सम्बोधन गर्दै ऊर्जा उत्पादनमा निजी क्षेत्रले पुर्‍याउँदै आएको योगदान अब प्रसारण पूर्वाधार विकासमा विस्तार भएको बताए । प्रसारण लाइनलाई ऊर्जा क्षेत्रको ‘लाइफ लाइन’ भन्दै उर्जामन्त्री श्रेष्ठले नविन साझेदारीले ऊर्जा क्षेत्रमा नयाँ युगको सुरुवात गरेको दावी गरे । ‘सहभागितामूलक विकास लोकतन्त्रको अभ्यास पनि हो, प्रसारण लाइनमा निजी क्षेत्रसँगको सहकार्य नेपालका लागि नयाँ अभ्यास हो । यसलाई सरकारले प्रोत्साहन गर्ने छ,’ मन्त्री श्रेष्ठले भने । त्यसअवसरमा मन्त्री श्रेष्ठले विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) सम्बन्धी समीक्षा प्रक्रिया जारी रहेको बताए ।

आरपीजीसीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सागर श्रेष्ठले जग्गाप्राप्ति, ‘राइट अफ वे’ तथा वन क्षेत्रको स्वीकृतिपछि निर्माण कार्य तीव्र रूपमा अघि बढ्ने बताए । कम्पनीका साझेदार समृद्धि इनर्जी लिमिटेडका अध्यक्ष शैलेन्द्र गुरागाईंले आयोजनालाई ऊर्जा क्षेत्रको ‘गेम चेन्जर’ परियोजनाको संज्ञा दिए । यो प्रसारण लाइनमार्फत ७ सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना, ४ सय ५० मेगावाटको सेती नदी-६ आयोजना, १ सय ७० मेगावाटको अपर सेती आयोजना लगायत सेती नदी प्रणाली तथा यसका सहायक नदीमा निर्माण हुने विभिन्न आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिने छ ।

करिब २ हजार ५ सय मेगावाटसम्म विद्युत् निकासी क्षमता विकास गर्ने लक्ष्य राखिएको छ । बझाङको जयपृथ्वी नगरपालिका-१ स्थित चैनपुर सबस्टेसनदेखि डोटीको बनलेक हुँदै कैलालीको बर्दगोरिया गाउँपालिका-२ स्थित दोधोधरा सबस्टेसनसम्म करिब १ सय ४५ किलोमिटर लम्बाइको ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिने छ । आयोजना अन्तर्गत चैनपुरमा १६० एमभीए र बनलेकमा ३१५ एमभीए क्षमताका सबस्टेसन निर्माण गरिने छन्