वीरगन्ज महानगरका नगर प्रमुख सिंहविरुद्ध पक्राउ पुर्जी जारी
किर्ते जन्मदर्ता, नागरिकता तथा राहदानी बनाएको आरोपमा जिल्ला अदालत पर्साले मंगलबार ३५ दिने पक्राउ पुर्जी जारी गर्दै अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको हो ।
वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । किर्ते जन्मदर्ता, नागरिकता तथा राहदानी बनाएको आरोपमा जिल्ला अदालत पर्साले मंगलबार ३५ दिने पक्राउ पुर्जी जारी गर्दै अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको हो ।
नगर प्रमुख सिंहमाथि अर्काकी छोरीलाई आफ्नै सन्तानका रूपमा देखाएर सरकारी कागजात तयार गरिएको आरोप लागेको छ ।
अभियोगपत्र अनुसार नगर प्रमुख सिंहले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाकी रिता भट्टराईलाई आफ्नी श्रीमतीका रूपमा देखाउँदै २०७१ माघ २० गते रुबिना श्रेष्ठको जन्मदर्ता गराएका थिए । सोही जन्मदर्ताका आधारमा २०७५ साउन १० गते नागरिकता बनाइएको र त्यसको १२ दिनपछि राहदानीसमेत जारी गरिएको अनुसन्धानबाट खुलेको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय पर्साले गत जेठ १ गते चारवटा अलग-अलग मुद्दा दर्ता गरेको थियो । तीमध्ये दुईवटा लिखत सम्बन्धी कसुर, एउटा झुट्टा विवरण पेस गरी नागरिकता बनाएको तथा अर्को राहदानीसम्बन्धी कसुर रहेको छ ।