कृषि उपजको भुक्तानी २५ दिनभित्र गर्न सरकारको निर्देशन

विज्ञापन
ncell

सरकारले कृषि उपज खरिद गर्दा उधारो कारोबार गर्न पाइए पनि अधिकतम २५ दिनभित्र अनिवार्य रूपमा भुक्तानी गर्नुपर्ने निर्णय कार्यान्वयनमा ल्याएको हो ।

काठमाडौँ । कृषकले बिक्री गरेको कृषि उपजको भुक्तानी २५ दिनभित्र अनिवार्य रूपमा गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न सरकारले सबै सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत कृषकको उत्पादनको उचित मूल्य सुनिश्चित गर्न यस्तो व्यवस्था लागू गरिएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।

सरकारले कृषि उपज खरिद गर्दा उधारो कारोबार गर्न पाइए पनि अधिकतम २५ दिनभित्र अनिवार्य रूपमा भुक्तानी गर्नुपर्ने निर्णय कार्यान्वयनमा ल्याएको हो । तोकिएको अवधिभित्र रकम भुक्तानी नगरे ब्याजसहित रकम तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

यो निर्णय सम्पूर्ण फर्म, उद्योगी, संस्थान, सहकारी, कम्पनी तथा कृषि उपज खरिद गर्ने व्यक्ति र निकायमा अनिवार्य रूपमा लागू हुने जनाइएको छ ।

यस्तै, उक्त व्यवस्था कार्यान्वयनका क्रममा कुनै गुनासो वा समस्या भए प्रमाणसहित मन्त्रालयका वरिष्ठ अर्थविज्ञ डा. मणिरत्न अर्याललाई सम्पर्क नम्बर ९८४५०६९८२६ मा सिधै सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।