पूर्वमन्त्री राजकुमार गुप्तालाई ५० लाख धरौटीमा छोड्न सर्वोच्चले दियो आदेश

सर्वोच्चले गुप्तालाई ५० लाख नगद धरौट वा सोबराबरको बैंक ग्यारेन्टी वा जेथा जमानत लिएर मुद्दाको पुर्पक्ष गर्ने कानुनी सुविधा प्रदान गरेको छ ।

काठमाडौं । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्वसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई पुर्पक्षको लागि ५० लाख धरौटीमा छाड्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मंगलबार विशेष अदालतको आदेश अनुरुप थुनामा रहेका गुप्तालाई धरौटी रकममा छाड्न आदेश दिएको हो । सर्वोच्चले प्रतिवादी गुप्ताको हकमा पुर्पक्षका लागि थुनामा राख्नेसम्बन्धी विशेष अदालत ऐन, २०५९ को दफा ७ आकर्षित हुने अवस्था नरहेको आदेशमा उल्लेख गरेको छ । 

सर्वोच्चले विशेष अदालतबाट गुप्तालाई गएको पुस १६ गते विशेषबाट भएको आदेश उल्ट्याइदिएको हो । सर्वोच्चले गुप्तालाई ५० लाख नगद धरौट वा सोबराबरको बैंक ग्यारेन्टी वा जेथा जमानत लिएर मुद्दाको पुर्पक्ष गर्ने कानुनी सुविधा प्रदान गरेको छ । 

तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरूवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको प्रमाण फेला परेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत असोज २२ गते मन्त्री गुप्तासहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। यही मुद्दामा नेपाली कम्युनिष्ट पार्टीकी नेता एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठ पनि मुछिएकी थिइन् । उनीलाई विशेष अदालतले पाँच लाख धरौटीमा छाड्न आदेश दिएको थियो । उक्त प्रकरणमा पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ताले बिचौलिया सुजन लामासँग घुस डिल गरेको र रञ्जिताले मध्यस्थकर्ताको भूमिका खेलेको अख्तियारको दाबी छ ।