प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिव धम्क्याउने खड्का पक्राउ

वडासचिव भण्डारीलाई टेलिफोन गरेर निकै अशिष्ट र अमर्यादित भाषामा धम्क्याएको अडिओ अहिले सामाजिक सञ्जालमा भाईरल भइरहेको छ । यसअघि शनिबारै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खड्कामाथि कडा कारबाही गर्न निर्देशन दिएको थियो ।

काठमाडौं । दैलेखको दुल्लु नगरपालिका १३ का वडा सचिव कमल भण्डारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गर्दै फोनमार्फत अश्लील भाषा प्रयोग गरी धम्की दिने व्यक्ति पक्राउ परेका छन् ।

प्रधानमन्त्री कार्यालयबाट हुँ भन्दै वडा सचिव धाकधम्की दिने प्रकाश खड्का पक्राउ परेका हुन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ वीरेन्द्रचोक घर भई हाल काठमाडौंको शंखमुल बस्ने २२ वर्षीय खड्कालाई प्रहरीले शनिवार काठमाडौंबाट पक्राउ गरेको हो ।

वडासचिव भण्डारीलाई टेलिफोन गरेर निकै अशिष्ट र अमर्यादित भाषामा धम्क्याएको अडिओ अहिले सामाजिक सञ्जालमा भाईरल भइरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले खड्कालाई पक्राउ गरि अनुसन्धान भईरहेको जनाएको छ ।

यसअघि शनिबारै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खड्कामाथि कडा कारबाही गर्न निर्देशन दिएको थियो । मन्त्रिपरिषद कार्यालयका प्रवक्ता हेमराज अर्यालले शनिबार जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटना सार्वजनिक हुनासाथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निज प्रकाश खड्कालाई तत्काल कानुनको दायरामा ल्याई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित सुरक्ष एवं अनुसन्धान निकायलाई कडा निर्देशन दिइसकेको छ । सम्माननीय प्रधानमन्त्री ज्यू सुशासन, विधिको शासन तथा राष्ट्रसेवक कर्मचारीको व्यावसायिक सुरक्ष र उच्च मनोबलका पक्षमा दृढ हुनुहुन्छ ।’

यस्तो छ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रेस विज्ञप्ति