दोहोरो सुविधाका नाममा प्रयोग भएका ७०१ वटा गाडी फिर्ता, कुन निकायको कति ?

शुक्रबारसम्म विभिन्न ३४ निकायबाट गाडी फिर्ता ल्याइएको छ । सबभन्दा बढी अर्थ मन्त्रालयबाट लगिएका १२४ गाडी फिर्ता ल्याइएको छ।

काठमाडौं । सरकारले दोहोरो सुविधाका नाममा प्रयोग भईरहेका ७०१ वटा गाडी फिर्ता ल्याएको छ । विभिन्न राजनीतिकर्मी र पूर्वप्रशासक समेतले प्रयोग गरिरहेका ति गाडी फिर्ता ल्याइएको हो ।

प्रधानमन्त्री बालेन शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार शुक्रबारसम्म विभिन्न ३४ निकायबाट गाडी फिर्ता ल्याइएको छ । त्यसमध्ये प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत लगिएका २६ वटा गाडी फर्काइएका छन् ।

सबभन्दा बढी अर्थ मन्त्रालयबाट लगिएका १२४ गाडी फिर्ता ल्याइएको छ। त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट गएका १६, ऊर्जा तथा जलस्रोत मन्त्रालयबाट गएका १६ सवारी साधन फिर्ता ल्याइएको छ ।

कानुन, न्याय तथा संसदीय मन्त्रालयबाट गएका ८, कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट २०, खानेपानी मन्त्रालयबाट ५, गृह मन्त्रालयबाट लगिएका २१ वटा गाडी पनि सरकारले फिर्ता लिएको छ ।

परराष्ट्र मन्त्रालयबाट ८, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट १२, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट ६४, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट ६, रक्षबाट १४, वन तथा वातावरण मन्त्रालयबाट १३, सहरी विकास मन्त्रालय अन्तर्गतबाट गएका ७५ गाडी फिर्ता ल्याइएको छ।