चलचित्र ‘लालीबजार’ को प्रदर्शन वैशाख २२ सम्म रोक्न अल्पकालीन अन्तरिम आदेश
रोशनी नेपालीले दायर गरेको रिटमा न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको हो ।
काठमाडौँ । चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतले आदेश जारी गरेको छ । रोशनी नेपालीले दायर गरेको रिटमा न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको हो । अन्तरिम आदेश दिने नदिने विषय भने छलफलपछि मात्र टुंगिने उल्लेख गर्दै उच्चले वैशाख २२ गतेको पेसी तोकेको छ । सो अवधिसम्म चलचित्रको सार्वजनिक प्रदर्शनीमा रोक लगाइएको हो ।
चलचित्रले वादी समुदायको आत्मसम्मानमा चोट पुर्याएको दाबी गर्दै नेपालीले चलचित्रको प्रदर्शन रोक्न माग गरी सोमबार रिट दायर गरेकी थिइन् । रिट निवेदनमा उठाइएका विषयवस्तुले निवेदकसमेतलाई अपूरणीय क्षति पुग्ने औँल्याउँदै अदालतले सुविधाको सन्तुलनका आधारमा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ ।
यम थापा निर्देशित फिल्म १८ बैशाखदेखि प्रदर्शन तयारीमा थियो । षट्कोण आर्टसले निर्माण गरेको फिल्म वादी समुदायका महिलाले गर्ने संघर्षको कथावस्तुमा आधारित छ ।
