सेयर बजारमा त्रास नफैलाउन अर्थमन्त्री वाग्लेको आग्रह : ‘साना लगानीकर्तामाथि कुनै धरपकड छैन’

अर्थमन्त्री वाग्लेले सेयर बजारमा हाल फैलिएको त्रास र अफवाहबारे ध्यानाकर्षण गराउँदै भने, “सरकारले साना लगानीकर्तामाथि कुनै कारबाही गर्ने उद्देश्य राखेको छैन ।

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारलाई अनावश्यक आतंकित पार्ने काम भएको स्पष्ट पारेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँग भएको छलफलमा अर्थमन्त्री वाग्लेले बजारमा अनावश्यक त्रास फैलाउने काम भइरहेको भन्दै नआत्तिन आग्रह गरे । अर्थमन्त्री वाग्लेले सेयर बजारमा हाल फैलिएको त्रास र अफवाहबारे ध्यानाकर्षण गराउँदै भने, “सरकारले साना लगानीकर्तामाथि कुनै कारबाही गर्ने उद्देश्य राखेको छैन । बजारमा आतंकित बनाउने काम भइरहेको छ, जुन उचित होइन । कुनै धरपकड अभियान चलेको छैन । यदि कसैले इन्साइडर ट्रेडिङ, म्यानिपुलेसन वा अन्य अनैतिक काम गरेको छ भने त्यसमा विद्यमान कानुन अनुसार मात्र कारबाही हुन्छ।” उनले सेयर बजारको संरचना र विश्वासिलोपनामा पनि जोड दिएका छन् । उनका अनुसार, “नेपालको सेयर बजार अन्य क्षेत्रभन्दा बढी व्यवस्थित र पारदर्शी छ। पेपरलेस प्रणाली, बैंकमार्फत कारोबार, लाभांश सिधै खातामा, कर प्रणाली स्पष्ट, र कसले किन्योरबेच्यो ट्र्याक गर्न सकिने भएकाले यो प्रणाली विश्वसनीय छ । सरकारले स्टक मार्केटलाई डिजिटलाइजेसनको नमूना क्षेत्रको रूपमा लिएको छ। प्रधानमन्त्रीले अन्य क्षेत्रमा पनि यस जस्तो डिजिटल प्रणाली लागू गर्न चाहनु भएको छ ।”

‘राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्रका बुँदा ३३ र ३४ कार्यान्वयन गर्ने हो, लगानीकर्ताले अध्ययन गरे हुन्छ । सेयर बजारप्रति हामी कति उदार छौँ, त्यसबाटै स्पष्ट हुन्छ’ उनले भने ।

बजारमा पनि सुनौला दिन आउने उनले बताए । अहिले सरकारको प्राथमिकता नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्नु रहेको उनले बताए ।

‘ग्रे लिस्टबाट मुलुकलाई बाहिर ल्याउने सवालमा कागजमा मात्रै कुरा गर्ने तर बाहिर नगर्ने गरेको भ्रम छ, हामी अहिले लागु पनि गर्ने चरणमा प्रवेश गरेका हौँ’ उनले भने । सम्पत्ति शुद्धीकरण लगायतका वित्तीय अपराधमा वर्षौंदेखि भएका अनुसन्धान अकाट्य प्रमाणका आधारमा मात्रै अहिले अघि बढेको उनले बताए ।