निजी क्षेत्रलाई घुस, लाइन र थुनाजस्ता समस्याबाट मुक्त गराउने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता

सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको भेटघाटमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । भेटका क्रममा अर्थमन्त्री डा.वाग्लेले आफू अर्थतन्त्रको जहाजलाई सही दिशामा मोडेर देशलाई नयाँ गति दिन आएको बताए ।

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई लक्षित गर्दै घुस, अनावश्यक लाइन र थुनाजस्ता समस्याबाट मुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको भेटघाटमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । भेटका क्रममा अर्थमन्त्री डा.वाग्लेले आफू अर्थतन्त्रको जहाजलाई सही दिशामा मोडेर देशलाई नयाँ गति दिन आएको बताए । उनले भने, ‘म घुस खान आएको होइन र कसैलाई खान पनि दिन्न । निजी क्षेत्रले अब दुःख पाउने दिन सकिए, हामी तपाईँहरूको सहयात्री भएर काम गर्न चाहन्छौं ।’ अर्थमन्त्रीले उद्योगी व्यवसायीहरूलाई ढुक्क भएर लगानी बढाउन र रोजगारीका अवसरहरू सिर्जना गर्न आग्रह गर्दै देश निर्माणमा जुट्न आह्वान गरे । निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकारले नीतिगत सुधार गर्ने संकेत गर्दै उनले अब आर्थिक बेइमानीका मुद्दामा व्यवसायीलाई थुन्ने नभई आर्थिक जरिवाना गर्नेतर्फ सरकार अघि बढ्ने बताए । निजी क्षेत्रका प्रतिनिधिहरूले अर्थमन्त्रीको यस कदमको स्वागत गर्दै लगानीमैत्री वातावरण बनेमा देशको अर्थतन्त्रले चाँडै काँचुली फेर्ने विश्वास व्यक्त गरे ।