सार्वजनिक यातायातको भाडा बढाउन माग, नबढाए सेवा बन्द गर्ने चेतावनी

महासंघले प्रेस विज्ञप्ति जारी गर्दै बढ्दो लागतका कारण व्यवसायीहरू दैनिक ठूलो घाटामा रहेको उल्लेख गर्दै सरकारसँग यथाशीघ्र वैज्ञानिक आधारमा भाडा समायोजन गर्न माग गरेको हो ।

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि तत्काल सार्वजनिक यातायात भाडा समायोजन नगरे सेवा सञ्चालन प्रभावित हुने चेतावनी दिएको छ । महासंघले प्रेस विज्ञप्ति जारी गर्दै बढ्दो लागतका कारण व्यवसायीहरू दैनिक ठूलो घाटामा रहेको उल्लेख गर्दै सरकारसँग यथाशीघ्र वैज्ञानिक आधारमा भाडा समायोजन गर्न माग गरेको हो । महासंघका अनुसार नेपाल आयल निगम ले हालै डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्यवृद्धि गरेको छ। उक्त मूल्यवृद्धिले सार्वजनिक यातायात सञ्चालन खर्चमा प्रत्यक्ष प्रभाव पारेको भन्दै महासंघले गम्भीर ध्यानाकर्षण गराएको छ । इन्धनको नयाँ मूल्यवृद्धिपछि यातायात क्षेत्र थप संकटमा परेको महासंघको भनाइ छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार, यसअघि पनि पटक–पटक भाडा समायोजनका लागि सम्बन्धित निकायहरूमा अनुरोध गरिए पनि त्यसको सुनुवाइ नभएको गुनासो गरिएको छ । महासंघले गत माघ १३ गते नै भाडा समायोजनका लागि औपचारिक रूपमा अनुरोध गरेको भए पनि हालसम्म कुनै ठोस निर्णय नआएको जनाएको छ । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका आधारमा सार्वजनिक यातायात भाडा समायोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मा प्रस्ताव पठाएको थियो ।