ग्याङफेङ लिथियमद्वारा ६५० प्रति किलोग्राम वाट/घण्टा ब्याट्री उत्पादन सुरु
चीनको अग्रणी लिथियम उत्पादक कम्पनी ग्याङफेङ लिथियमले ६५० वाट/घण्टा प्रति किलोग्राम (Wh/kg) ऊर्जा घनत्व भएको ठोस-तरल अवस्थाको ब्याट्रीको ठूलो मात्रामा उत्पादन सुरु गरेको छ। दक्षिण कोरियाली अटोमोटाइव हुन्डाई मोटर समूह र चाङ्गान मोटर्सलगायत प्रमुख कम्पनीहरूलाई आपूर्ति गर्दै आएको ग्याङफेङले यो प्रविधि विकास गरेको हो ।
कम्पनीका अधिकारीहरूका अनुसार, यो उच्च क्षमताको ब्याट्री लिथियम मिश्र धातु (लिथियम एलोय) एनोड प्रविधिमा आधारित छ र हाल गैर-अटोमोटिभ क्षेत्रहरूमा प्रयोग भइरहेको छ। यसले ४०० देखि ६५० प्रति किलोग्राम वाट/घण्टासम्मको ऊर्जा घनत्व हासिल गरेको छ, जुन हाल बजारमा रहेका विद्युतीय सवारीका लागि प्रयोग हुने २५०-३०० प्रति किलोग्राम वाट/घण्टा क्षमताको लिथियम-आयन ब्याट्रीभन्दा निकै उच्च हो ।
यस प्रविधिको मुख्य विशेषता यसको 'शून्य-तनाव' (जिरो-स्ट्रेन) लिथियम मिश्र धातु एनोड हो, जसले चार्ज र डिस्चार्जको क्रममा हुने भोल्युम विस्तारलाई मात्र ३-५ प्रतिशतमा सीमित गर्छ। परम्परागत लिथियम ब्याट्रीमा हुने लिथियम डेन्ड्राइटको वृद्धिलाई रोकेर सर्ट सर्किटको जोखिम कम गर्नुका साथै थर्मल स्थिरता पनि सुधारिएको छ। कम्पनीको दाबी अनुसार, यो ब्याट्रीले २५० डिग्री सेल्सियस तापक्रम परीक्षण र सुई प्रवेश (नेल पेनिट्रेसन) परीक्षण सफलतापूर्वक पार गरेको छ, जसले यसको उच्च सुरक्ष मापदण्डलाई संकेत गर्दछ ।
यसले ३सी फास्ट चार्जिङको आवश्यकता पूरा गर्न सक्ने क्षमता पनि फ्रदर्शन गरेको छ। १ mAh/cm² को क्षमतामा ५० mA/cm² को क्रिटिकल करेन्ट डेन्सिटी (CCD) हासिल गरेको छ, जसले भविष्यमा विद्युतीय सवारीको चार्जिङ समय उल्लेखनीय रूपमा घटाउन सक्छ ।
ग्याङफेङ लिथियम यस क्षेत्रको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो, जसको वार्षिक लिथियम धातु उत्पादन क्षमता ३,८५० टन रहेको छ र १,००० टन थप गर्ने योजना छ। कम्पनीले ५ माइक्रोमिटर मोटाइ र ३०० मिलिमिटर चौडाइको लिथियम फोइल उत्पादन गरिरहेको छ ।
अल-सोलिड-स्टेट ब्याट्रीको विकास पनि नमुना चरणमा रहेको जानकारी कम्पनीले दिएको छ। लिथियम मिश्र धातु एनोडको प्रयोगले यी ब्याट्रीहरूमा पनि डेन्ड्राइट गठन र इन्टरफेसियल अस्थिरता जस्ता चुनौतीहरू समाधान गर्न मद्दत गर्ने अपेक्ष गरिएको छ। यद्यपि पूर्ण रूपमा ठोस-अवस्था ब्याट्रीहरू अझै व्यावसायिक उत्पादनको लागि तयार नभए पनि, यसले भविष्यमा लामो दूरीका विद्युतीय सवारी, ड्रोन र एयरोस्पेस प्रविधिहरूको लागि मार्ग प्रशस्त गर्न सक्नेछ