उपेन्द्र पौड्यालः ४० वर्षको बेदाग बैंकिङ क्षेत्रका हस्ती
करिब ४० वर्षे बैंकिङ करिअरमा पौडेलसँग बैंकिङका सबै पक्षसँगै परियोजना वित्त, ग्रीन फाइनान्सिङ एवं अन्तर्राष्ट्रिय बैंकिङको विस्तृत ज्ञान र अनुभव छ ।
तीन महिना मात्र पर्खिएको भए उपेन्द्रप्रसाद पौड्यालले बैंकिङ क्षेत्रमा ४० वर्ष पूरा गरेका हुन्थे । त्यसैले पौड्याल वित्तीय क्षेत्रमा नामै काफी छ । सन् १९८६ मेबाट बैंकिङ यात्रा सुरु गरेपछि पछाडि फर्केर नहेरेका पौड्याल नेपालको वित्तीय क्षेत्रमा लामो समय सक्रिय रूपमा काम गर्ने एक्ला बैंकर हुन् भन्दा फरक पर्दैन । अझ जोइन्ट भेन्चर बैंकबाट काम सुरु गरेर एउटा वित्त कम्पनीमा लामो समय बिताउँदै फाइनान्सलाई सीधै वाणिज्य बैंकमा स्तरोन्नति गराउन सफलता प्राप्त गरेका र नेपालकै पहिलो जोइन्ट भेन्चर बैंकको अध्यक्ष भएर वित्तीय क्षेत्रबाट बिदा हुनु चानचुने सफलता होइन । पौड्यालले विदेशी ‘जोइन्ट भेन्चर’ बैंक (स्ट्यान्डर्ड चार्टर्ड) बाट करिअर सुरु गरेर नेपाली बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)बनेर आफ्नै पहलमा विदेशी लगानी भित्र्याएर सबल बैंक बनाएपछि फेरि निजी क्षेत्रको पहिलो जोइन्ट भेन्चर बैंक (नबिल बैंक) को अध्यक्ष भएर वित्तीय क्षेत्रबाट तत्कालका लागि बिदा लिएका छन् । पुस २९ गते नबिलको साधारणसभाबाट बाहिरिएका पौड्याललाई गत शुक्रबार मात्रै बिदाइ गरिएको थियो ।
पौड्यालको वित्तीय क्षेत्र प्रवेशको कथा
९ वर्षको उमेरमा औपचारिक शिक्षा सुरु गरेका पौड्यालले १४ वर्षमा लैनचौरस्थित शान्ति विद्या गृहबाट एसएलसी पास गरेर सरस्वती क्याम्पसमा कमर्स पढ्न थाले र बीकम त्यहीँबाट गरे ।
त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर गर्दैगर्दा पौड्यालले १० महिना नवलपरासीको डन्डामा राष्ट्रिय विकास सेवा (राबिसे) का रूपमा काम गरे । त्यतिबेला (२०३६ तिर) स्नातकोत्तर तहका विद्यार्थीलाई राबिसेका लागि केही महिना गाउँ पठाउने गरिन्थ्यो । त्यसपछि भने पौड्याल काठमाडौं फर्किएर सोल्टी होटलमा जागिरे भए ।
होटलमा जागिर खाँदाखाँदै लोकसेवा आयोग र नेपाल राष्ट्र बैंकमा जागिरका लागि तयारी गरेका पौड्याललाई सफलता मिलेन । तर, होटलमा जागिर छँदै केही समय सरकारी बैंकमा करारमा लेखा अधिकृत भएका पौड्याल फेरि सोल्टीमै फर्किए । सोल्टीमा पटक–पटक ‘इम्प्लोइ अफ द मन्थ र इयर’ बाट पुरस्कृत पौड्यालले ग्रीन्डलेज बैंकको ‘क्रेडिट एन्ड मार्केटिङ शाखामा नियुक्ति लिए ।
अनि सुरु भयो बैंकिङ यात्रा
१९८६ मा ग्रीन्डलेज बैंक (हाल स्ट्यान्डर्ड चार्टर्ड) बाट बैंकिङ करिअर सुरु गरेका पौड्याल त्यहाँ १४ वर्ष जिम्मेवारी सम्हालेपछि २००० मा बाहिरिए । सोही वर्ष एनएमबी बैंक (तत्कालीन नेपाल मर्चेन्ट एन्ड फाएनान्स) मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा प्रवेश गरे । त्यतिबेला मर्चेन्ट बैंकिङ सुरु गर्नेमा एनएमबी अग्रपंक्तिमा थियो । २०१७ सम्म पौडेलले एनएमबीमै काम गरे । पौडेलकै नेतृत्वमा २००८ मा फाइनान्स सीधै वाणिज्य बैंकका रूपमा स्तरोन्नति भयो । बैंकमा स्तरोन्नतिपछि सर्वस्वीकार्य र बैंकिङ क्षेत्रमा स्थापित हुन पौडेलले व्यावसायिक रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे । वित्तीय क्षेत्र कठिन मोडमा पुगेका बेला अनेकन अवरोधलाई छिचाल्दै पौडेलले वित्तीय क्षेत्रमा एनएमबीलाई स्थापित गराउन सफल भए । स्ट्यान्डर्ड चार्टर्डमा सिकेको ज्ञान, सीप र दक्षतालाई पौड्यालले एनएमबीमा भरपुर उपयोग गरे । पौड्यालकै कार्यकालमा २०६५ मा एनएमबी फाइनान्सबाट वाणिज्य बैंक बन्यो । फाइनान्स तथा विकास बैंकबाट स्तरोन्नति भएका अन्य बैंक निकै समस्यामा परे पनि पौड्यालकै व्यवस्थापकीय कुशलताले एनएमबीलाई सधैं राम्रो अवस्थामा राखिरह्यो ।
पौडेलकै पहलमा एनएमबीले विदेशी लगानी भित्र्यायो र नेपालमा नेदरल्यान्डको ‘भ्यालू बेस बैंकिङ’ भित्रियो । त्यसपछि २०७२ मा एनएमबीमा राष्ट्रिय स्तरको क्लिन इनर्जी डेभलपमेन्ट बैंकसहित पाथीभरा विकास बैंक, भृकुटी डेभलपमेन्ट बैंक र प्रुडेन्सियल फाइनान्स कम्पनी गाभिए । यसले कठिन परिस्थितिमा बैंकलाई झनै अब्बल बनाउन मद्दत ग¥यो । त्यहीबीचमा जनवरी २०१४ देखि नोभेम्बर २०१६ सम्म नेपाल बैंकर्स संघे अध्यक्षसमेत भएका पौडेलले नेपाल व्यवस्थापन संघ (म्यान) को अध्यक्ष भएर पनि काम गरे ।
एनएमबी बैंकको व्यवस्थापकीय जिम्मेवारीबाट बाहिरिएसँगै पौड्याल २०७४ मंसिर १५ देखि २०७७ असोज १९ सम्म नबिल बैंक सञ्चालक भए भने २०७७ असोज २० देखि २०८२ पुस २९ सम्म नबिलको अध्यक्ष भएर काम गरे । नबिलमा पौडेल सक्रिय रहेका बेला युनाइटेड फाइनान्स र नेपाल बंगलादेश बैंक गाभिएका थिए । दुई संस्थामा मर्जरको छुट्टाछुट्टै अनुभव लिएका पौडेलले वित्तीय क्षेत्र सबलीकरण्मा समेत महत्त्वपूणर्् भूमिका वहन गरे ।
पौड्यालकै नेतृत्वमा नबिल बैंकले पछिल्लो ८ वर्षको सबैभन्दा बढी लाभांश आर्थिक वर्ष २०७७÷७८ मा दिएको थियो । त्यस वर्ष नबिलले ३३.६० बोनस सेयर र ४.४० प्रतिशत नगद गरी ३८ प्रतिशत लाभांश दिएको थियो । त्यसो त, पछिल्ला ८ वर्षमा नबिलले लगानीकर्तालाई हात खाली गरेको छैन, केही न केही लाभांश दिएकै छ । ८ वर्ष सञ्चालक र अध्यक्ष भएर नबिलमा काम गर्दाको उत्तराद्र्धतिर पौड्यालले बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) को अध्यक्षसमेत भएर काम गरे । सिबिफिन बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने लगानीकर्ताको पक्षमा लबिइङ गर्ने संस्था हो । यसरी १४ वर्ष स्ट्यान्डर्ड चार्टर्डमा काम गरेका पौड्यालले १७ वर्ष एनएमबीको व्यवस्थापक भएर काम गरे भने पछिल्लो ८ वर्ष नबिल बैंक सञ्चालक समिति सदस्य र अध्यक्ष भएर काम गरे । करिब ४० वर्षे बैंकिङ करिअरमा पौडेलसँग बैंकिङका सबै पक्षसँगै परियोजना वित्त, ग्रीन फाइनान्सिङ र अन्तर्राष्ट्रिय बैंकिङको विस्तृत ज्ञान र अनुभव छ ।
सुशासनमा सदैव अडिग
गभर्नेन्स र सुशासनमा सदैव अडिग रहने बैंकर पौड्याल मुलुकमा राजनीति हाबी भएसँगै वित्तीय क्षेत्रमा पनि ‘चेन अफ कमान्ड’ टुट्दै गएको अनुभव सुनाउँछन् । सुशासनमा अब्बल रहेकै कारण वित्तीय क्षेत्रका अनेकन कठिनाइलाई सहज ढंगले पार लगाउँदै आफूले काम गरेको संस्था र आफ्नो करियरबाट बेदाग बाहिर निस्कन सफल भए, उनी । बैंकिङ क्षेत्रमा योगदान गरेबापत सरकारबाट सुप्रबल जनसेवा श्री पदकसमेत पाए । आर्थिक उदारीकरणमा मुलुक प्रवेश गरे पनि कर्मचारीतन्त्रलाई प्रणालीले राम्रोसँग विकास गराउन नसक्दा मुलुक थप जटिलतातर्फ अग्रसर रहेको आकलन पौड्यालको छ । आवश्यकताभन्दा धेरै कर्मचारी र क्षमता अभिवृद्धिमा खासै ध्यान नदिइँदा समाजलाई सबैले मिलेर बिगारेको भाष्य बनिरहेको उनको बुझाइ छ ।
समाजमा हुने र नहुनेबीचको खाडल बढ्दाको असर वित्तीय क्षेत्रमा पनि परेको ठान्ने पौड्याल पछिल्लो समय बैंकविरुद्ध भइरहेका अवाञ्छित गतिविधिप्रति चिन्तित छन् । छिमेकी भारत र विश्वभर नै बैंकविरुद्ध आन्दोलन नभएको ठानेका पौड्यालले नेपालमा देखिएका समस्यालाई सबै पक्ष मिलेर तत्काल समाधान नगरे आगामी दिनमा ठूलो संकट आउने औंल्याउँछन् ।
बैंकहरूमा पैसा थुप्रिने तर लगानी नहुने र लगानी भएका क्षेत्रमा पनि जोखिम बढ्दै जाने अवस्थालाई गम्भीर आत्मसमीक्ष गरी भविष्यको ‘उत्थानशीलता’का लागि लगानी बढाउन सबै पक्षले ध्यान दिनुपर्ने पौड्याल सुझाउँछन् । धितोमुखी बैंकिङ उद्यमशीलताको बाधक रहेको ठान्ने पौड्याल, यसैका कारण बैंकिङ सुरक्षा खस्किएको मान्छन् ।
ग्लोबल अलायन्स र ईएसजीमा सक्रिय
पौड्यालले पछिल्लो समय एसिया–प्रशान्त क्षेत्रको ‘ग्लोबल अलायन्स फर बैंकिङ अन भ्यालू’को संयोजक भएर काम गरेका थिए । ग्लोबल अलायन्स फर बैंकिङ अन भ्यालूले दिगो बैंकिङ, सुशासन र समुदायको जीवनस्तर रुपान्तरणमा काम गर्ने गर्दछ । त्यसैगरी त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत इन्भाइरोमेन्ट, सोसल एन्ड गभर्नेन्स् (ईएसजी) को डिप्लोमा कोर्ष सुरु भएको छ । ईएसजी औद्योगिक स्थिरताका लागि निकै महत्त्वपूर्णा हुन्छ । अहिले बैंकरले मात्रै यो कोर्ष अध्ययन गरे पनि सबै क्षेत्रलाई आवश्यक छ । पौड्यालकै पहलमा विश्वविद्यालयको कोर्ष–बुकमा राखेर पढाइ सुरु भएकाले सल्लाहकार समितिको अध्यक्षमा उनी नै छन् । बोर्डमा राष्ट्र बैंकबाट अहिले कार्यकारी निर्देशक गुरु पौडल सल्लाहकार समितिमा छन् । त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघलगायत संस्थाका प्रतिनिधि पनि सल्लाहकार समितिमा छन् । पौड्यालकै कारण नेपालमा ईएसजी कोष सुरु भएको भन्दा अन्यथा हुँदैन । ईएसजी कोर्ष सुरु गराउनलाई एफएमओ (जो एनएमबी बैंकको साझेदार पनि हो) ले धेरै सहयोग गरेको पौड्याल बताउँछन् । ईसजी कोष सुरुमा पोखरा र काठमाडौं विश्वविद्यालयमा अघि बढाउने गरी काम अघि बढे पनि अन्तमा सफल नभएको र त्रिभुवन विश्वविद्यालयले अपनत्वका लिएका कारणा सम्भव भएको पौड्यालको भनाइ छ ।
अधुरै रह्यो राष्ट्र बैंक सञ्चालक बन्ने योजना
एनएमबी बैंकबाट बिदा हुँदै गर्दा पौड्याल नेपाल राष्ट्र बैंक सञ्चालक बन्ने योजनामा थिए । त्यहीअनुरूप तत्कालीन सरकारका प्रतिनिधिसँग एक प्रकारको सहमति पनि लिएका थिए । तर, राजनीतिक नेतृत्व र कर्मचारी संयन्त्रले त्यसलाई सहज रूपमा नलिँदा उनको योजनामा ठेस लाग्यो । ‘आफूले वित्तीय क्षेत्रमा बिताएको ४० वर्षको अनुभव केन्द्रीय बैंकबाट देखाउने योजना थियो तर, सफल भइनँ,’ पौड्यालले भने । तत्काललाई वित्तीय क्षेत्रको सक्रिय जीवनबाट बिदा भएका पौड्याल आफ्नो रक्तसञ्चारमै यो क्षेत्र जोडिएकाले यसबाट टाढा हुनै नसक्ने बताउँछन् ।
अब बैंकिङ क्षेत्रले छोटो समयको नाफाभन्दा भविष्यको ‘रिसाइलेन्स’लाई सोचेर अगाडि बढ्नुपर्नेमा पौड्यालको जोड छ । ‘डिजिटल रुपान्तरणामा एआई तथा साइबर सेक्युरिटीलाई समेत प्राथमिकता दिँदै वास्तविक अर्थतन्त्रमा ध्यान केन्द्रित गरेर बैंकिङ क्षेत्रलाई अगाडि बढाउनुपर्छ,’ पौड्याल भन्छन्, ‘प्रवासी जनसंख्याको सीप र पुँजीको ताकतलाई प्रयोग गर्दै उद्यमशीलताको विकास र क्षमता अभिवृद्धि गरी उनीहरूलाई मुलुकको अर्थतन्त्रको मूल धारमा ल्याउनुपर्छ । यसले मात्रै देशको अर्थतन्त्रलाई रुपान्तरण गर्न सकिन्छ र त्यसमा बैंकले ठूलो भूमिका निर्वाह गर्न सक्छन् ।’