भारत र अमेरिकाबीच व्यापार सहमतिले भन्सार दर १८ प्रतिशतमा झर्यो, भारतले गर्ला ५०० अर्ब डलरको खरिद

भारतले अमेरिकाप्रति आफ्नो शुल्क र गैर-शुल्क अवरोधहरू घटाउने दिशामा अघि बढ्ने र ‘बाय अमेरिकन’ नीतिअन्तर्गत ऊर्जा, प्रविधि, कृषि, कोइला लगायतका क्षेत्रमा ५०० अर्ब डलरभन्दा बढीको खरिद गर्ने प्रतिबद्धता जनाएको बताइएको छ ।

अमेरिकाले भारतबाट आयात हुने सामानमा लगाउँदै आएको शुल्क घटाएर १८ प्रतिशत बनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत शुल्क घटाएको जानकारी दिएका छन् । राष्ट्रपति ट्रम्पले अमेरिका–भारतबीच व्यापार सम्झौतामा सहमति बनेको बताएका छन्, तर प्रधानमन्त्री मोदीको पोस्टमा व्यापार सम्झौताको विस्तृत उल्लेख छैन ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको छ, जसअन्तर्गत रेसिप्रोकल ट्यारिफ २५ प्रतिशतबाट घटाएर १८ प्रतिशत गरिएको छ । उता प्रधानमन्त्री मोदीले ‘मेड इन इन्डिया’ उत्पादनमा शुल्क घटाइएकोमा खुशी व्यक्त गरेका छन् ।

भारतस्थित अमेरिकी राजदूत सर्जियो गोरले पनि अमेरिका र भारतबीचको सम्बन्धमा ठूलो सम्भावना रहेको र व्यापार सम्झौताबाट उत्साहित भएको बताएका छन् । उनका अनुसार राष्ट्रपति ट्रम्प प्रधानमन्त्री मोदीलाई आफ्नो असल मित्र मान्छन् ।

यो घोषणा महत्वपूर्ण मानिएको छ, किनकि पछिल्लो एक वर्षयता अमेरिका र भारतको सम्बन्धमा उतार–चढाव देखिँदै आएको थियो । यसअघि अमेरिकाले भारतमा २५ प्रतिशत शुल्क लगाउनुका साथै रूसबाट तेल खरिद गरेबापत थप २५ प्रतिशत शुल्क लगाएको थियो, जसले कुल शुल्क ५० प्रतिशत पुगेको थियो ।

राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीसँग भएको कुराकानीबारे जानकारी दिँदै व्यापार, रूस–युक्रेन युद्ध र ऊर्जा खरिदका विषयमा छलफल भएकोबताएका छन् । उनका अनुसार भारतले रूसबाट तेल खरिद कम गरी अमेरिका र सम्भवतः भेनेजुएलाबाट बढी तेल खरिद गर्ने सहमति जनाएकोछ। यसले युक्रेन युद्ध अन्त्य गर्न सहयोग पुग्ने ट्रम्पको भनाइ छ ।

ट्रम्पले भारतले अमेरिकाप्रति आफ्नो शुल्क र गैर-शुल्क अवरोधहरू घटाउने दिशामा अघि बढ्ने र ‘बाय अमेरिकन’ नीतिअन्तर्गत ऊर्जा, प्रविधि, कृषि, कोइला लगायतका क्षेत्रमा ५०० अर्ब डलरभन्दा बढीको खरिद गर्ने प्रतिबद्धता जनाएको दाबी गरेका छन् ।

प्रधानमन्त्री मोदीले पनि राष्ट्रपति ट्रम्पसँगको कुराकानीप्रति खुशी व्यक्त गर्दै शुल्क घटाइएकामा भारतका १.४ अर्ब जनताको तर्फबाट धन्यवाद दिएका छन्। उनले दुई ठूला अर्थतन्त्र र विश्वका ठूला लोकतन्त्र मिलेर काम गर्दा दुवै देशका जनतालाई फाइदा पुग्ने बताएका छन्। साथै, विश्वशान्ति र स्थायित्वका लागि राष्ट्रपति ट्रम्पको नेतृत्व महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।

यस घोषणापछि भारतीय विपक्षी कांग्रेस पार्टीले प्रतिक्रिया दिएको छ। कांग्रेस प्रवक्ता जयराम रमेशले राष्ट्रपति ट्रम्पले वाशिङ्टनबाटै भारतसम्बन्धी ठूला घोषणाहरू गर्दै आएको र यसले प्रधानमन्त्री मोदीमाथि दबाब देखिएको टिप्पणी गरेका छन्। उनका अनुसार यस पटक भारत झुकेको जस्तो देखिन्छ र सम्झौताको पूर्ण विवरण आउन अझै बाँकी छ ।