६ महिनामा ३९.१ प्रतिशतले बढेर रेमिट्यान्स साढे १० खर्ब नाघ्यो, श्रम स्वीकृति लिने साढे ८ हजार बढे

संस्थागत तथा व्यक्तिगत (नयाँ) तर्फबाट २ लाख ६ हजार ८०७ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् भने १ लाख ९४ हजार ७३३ जना ले पुनः श्रम स्वीकृति लिएका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा समग्रमा ८ हजार ४७३ जना बढी हो ।

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा नेपाल भित्रिने रेमिट्यान्स आप्रवाह उल्लेखनीय रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार २०८२ पुससम्म रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १० खर्ब ६२ अर्ब ९३ करोड रूपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ४.२ प्रतिशतले मात्र वृद्धि भएको थियो ।

पुस महिनामा मात्र रेमिट्यान्स आप्रवाह १ खर्ब ९२ अर्ब ६२ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह १ खर्ब २२ अर्ब ४४ करोड रूपैयाँ थियो । अमेरिकी डलरमा रेमिट्यान्स ३२.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ५० करोड डलर पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो वृद्धि दर २.७ प्रतिशत मात्रै थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि वृद्धि भई रु. ११ खर्ब ६८ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु. ८ खर्ब ३३ अर्ब ८६ करोड रहेको थियो ।

वैदेशिक रोजगारीतर्फ जाने नेपालीको संख्यामा भने मिश्रित अवस्था देखिएको छ । समीक्षा अवधिमा संस्थागत तथा व्यक्तिगत (नयाँ) तर्फबाट २ लाख ६ हजार ८०७ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् भने १ लाख ९४ हजार ७३३ जना ले पुनः श्रम स्वीकृति लिएका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा समग्रमा ८ हजार ४७३ जना बढी हो । अघिल्लो वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या २ लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ रहेको थियो।