ग्यास आपूर्ति सहज गर्न आयल निगमलाई निर्देशन
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति गर्न आयल निगमलाई निर्देशन दिएको छ । सो छलफलमा निगमको प्रबन्धक पछाईले भारतले कोटाअनुसार नै ग्यास दिइरहेको, तर उद्योगीले मागअनुसार पिडिओ उठाउन नसकिरहेको जानकारी गराएकी थिइन् ।
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति गर्न आयल निगमलाई निर्देशन दिएको छ । सोमबार दिउँसो विभागमा भएको छलफलमा महानिर्देशक रोशन ज्ञवालीले बजारमा तत्कालै उपभोक्ताले महसुस गर्ने गरी ग्यास आपूर्ति सहज गर्न सबै संयन्त्र प्रयोग गर्न निर्देशन दिएका हुन् ।
आपूर्ति शाखा निर्देशक नरहरि तिवारीको कार्यकक्षमा आयल निगमको एलपिजी तथा एभिएसन विभागमा कार्यरत प्रबन्धक दुर्गा पछाईसहित छलफल भएको थियो ।
सो छलफलमा निगमको प्रबन्धक पछाईले भारतले कोटाअनुसार नै ग्यास दिइरहेको, तर उद्योगीले मागअनुसार पिडिओ उठाउन नसकिरहेको जानकारी गराएकी थिइन् ।
जाडो मौसममा भारतको बरौनी रिफाइनरी सफाइ हुने हुँदा त्यहाँबाट तुलनात्मक रूपमा थोरै पिडिओ जारी हुने गर्छ । त्यसैकारण अहिले पनि बजारमा ग्यास आपूर्तिमा केही असजहता देखिएको निगमको भनाइ छ । तर, बरौनी रिफाइनरीमा मर्मत सकिएर अहिले मागअनुसार नै पिडिओ जारी भइरहेको चाँडै समस्या समाधान हुने पछाईले छलफलमा जानकारी गराएकी थिइन् ।
केही ग्यास उद्योगीले कोटाअनुसार ग्यास आयात गर्न नसक्दा पनि बजारमा समस्या भएको विषय छलफलमा उठेको थियो । त्यसपछि महानिर्देशक ज्ञवालीले तोकिएको कोटाअनुसार ग्यास नल्याएर बजारमा नियमित आपूर्ति गर्न नसक्ने उद्योगीलाई निगरानीमा राख्न निर्देशन दिए । उनले कोटाअनुसार ग्यास ल्याउन नसक्नेलाई कारबाही गर्नुपरे त्यसका लागि पनि तयार हुनुपर्ने छलफलमा बताएका थिए । त्यस्तै, निर्देशक तिवारीले ग्यास आयात, वितरण र डिलरकहाँ रहेको मौज्दात विवरणको निगमले आफ्नो संयन्त्रमार्फत निगरानी बढाउनुपर्ने बताएका थिए ।
करिब १५ दिनयता बजारमा ग्यास आपूर्ति असहज भइरहेको छ । जसकारण, उपभोक्ताले खोजेको समयमा डिलरबाट ग्यास पाउन सकिरहेका छैनन् ।