घुससहित भन्सार कार्यालयका अधिकृतसमेत तीन जना पक्राउ, अख्तियारको नियन्त्रणमा २ लाख ६८ हजार नगद, २३ थान मोबाइल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार अधिकृत इन्द्र न्यौपाने सहित तीन जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको छ । अख्तियारले उनीहरूको साथबाट दुई लाख ६८ हजार २८८ रुपैयाँ र २३ थान मोबाइल बरामद गरेको जनाएको छ ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार अधिकृत इन्द्र न्यौपाने सहित तीन जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको छ । अख्तियारले उनीहरूको साथबाट दुई लाख ६८ हजार २८८ रुपैयाँ र २३ थान मोबाइल बरामद गरेको जनाएको छ ।

पक्राउ परेका अन्य कर्मचारीहरूमा सञ्चार मन्त्रालयबाट खटिएका हुलाक सेवा विभाग गोश्वारा हुलाक कार्यालय निकासी शाखाका नासु छविप्रसाद रिजाल र कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी रहेका छन् । 

उजुरीका आधारमा अख्तियारले टोली खटाएको थियो । कार्यालय सहयोगी पुडासैनीको कार्यकक्ष तथा घरबाट करिब १ लाख ४६ हजार रुपैयाँ बरामद भएको छ भने नासु रिजालको साथबाट ३८ हजार ८४८ रुपैयाँ बरामद भएको छ । अख्तियारका अनुसार, न्यौपाने, रिजाल र पुडासैनीको मिलेमतोमा घुस लिइएको र बाँडफाँट हुनुअघि नियन्त्रणमा लिइएको हो ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, न्यौपानेसहित कर्मचारीहरूले सेवाग्राहीबाट घुस लिएका र स्रोत खुलाउन नसकिएको रकम बरामद गरिएको हो ।

अख्तियारले बरामद गरिएका २३ थान मोबाइल भने विधिविज्ञान प्रयोगशालामा पठाउने तयारी गरेको छ ।