युद्व अर्थतन्त्रबाट मुक्त हुने घोषणापत्र ल्याउँछौँ : नेकपा नेता गुरुङ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता देव गुरुङले आगामी निर्वाचनको लागि नेकपाले उत्पादनमुखी र युद्व अर्थतन्त्रबाट नेपाललाई मुक्त हुने गरी घोषणापत्र ल्याउने बताएका छन् । आत्मनिर्भर बनाउन हामीले उत्पादन बढाउन सहकारी र सार्वजनिक क्षेत्रलाई जोड दिएका छौँ,’ उनले भने ।

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता देव गुरुङले आगामी निर्वाचनको लागि नेकपाले उत्पादनमुखी र युद्व अर्थतन्त्रबाट नेपाललाई मुक्त हुने गरी घोषणापत्र ल्याउने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको दलको घोषणापत्रमा आर्थिक एजेन्डा कार्यक्रममा गुरुङले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा रहेको भन्दै त्यसलाई केन्द्रित गरेर घोषणापत्र ल्याउने बताए । 

उनले नेपालको अर्थतन्त्र सुधार गर्न सुशासनलाई पहिलो एजेन्डा बनाउने बताए । ‘नेपाली अर्थतन्त्र उत्पादनमुखी बनाउन हामीले जोड दिएका छौँ । आत्मनिर्भर बनाउन हामीले उत्पादन बढाउन सहकारी र सार्वजनिक क्षेत्रलाई जोड दिएका छौँ,’ उनले भने । रोजगारीमुखी अर्थतन्त्र, कृषि उपजको बजार विस्तारमा जोड दिनेगरी नेकपाको घोषणापत्रमा आउने पनि उनले बताए ।  

ठूला उद्योगहरूलाई प्राथमिकता दिएर गेम चेन्जर परियोजनालाई जोड दिने उनको दाबी छ । उनले भने, ‘घोषणापत्रमा सामाजिक सेवालाई गुणस्तरीय र राज्यलाई सेवामुखी बनाउन जोड दिएका छौँ भने समावेशी अर्थतन्त्र, वाताावरणमैत्री अर्थतन्त्रसमेत घोषणापत्रमा आउँछ ।’

डिजिटल अर्थतन्त्रको विकास हुने खालको र कार्यान्वयनमुखी घोषणापत्र नेकपाले ल्याउने उनले बताए । विगतमा धेरै प्रचारमुखी भएको भन्दै योपटक कार्यान्वयन हुनेखालको घोषणापत्रमा ल्याउने गुरुङको भनाइ छ। 

युद्व अर्थतन्त्रबाट मुक्त हुनुपर्छ 

सोही अवसरमा नेता गुरुङले घोषणापत्रमा कार्यान्वयन हुन नसक्नुको कारण राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति भएको बताए । उनले विश्व बजार युद्व अर्थतन्त्रमा गइरहेको भन्दै विश्व आतंकित दिशामा भइरहेको भन्दै अर्थतन्त्र पश्चिमकेन्द्रित भइरहेको बताए । उनले भने, ‘युद्ध अर्थतन्त्रबाट नेपाललाई मुक्त हुनेगरी घोषणापत्र ल्याउँछौँ ।’

नेता गुरुङले अहिले देशमा संविधान क्रियाशील नभएको भन्दै जेन–जीको नाममा निर्दलीय सरकार रहेको बताए । निर्वाचनको निष्पक्षतामा शंका गर्दै उनले भने, ‘दलहरू पर्यवेक्षकको रूपमा मात्रै छन् । दलीय प्रणाली पूर्ण क्रियाशील छ कि छैन यो बहसमै छ । निष्पक्ष स्वतन्त्र ढंगले निर्वाचन भए दलहरू पुनःस्थापित भए मान्न सकिन्छ । तर निर्वाचनबाट प्रोक्सी दलहरू आउने त होइन भन्ने शंका छ’, उनले भने ।