फेडमा बार्शको नियुक्तीले डलर मजबुत, सुनचाँदीको मूल्यमा उच्च गिरावट आउँदा लगानीकर्ता सशंकित

चाँदीको मूल्य पनि ३६ प्रतिशतभन्दा बढीले घट्दै इन्ट्रा डे कारोबारमै कीर्तिमानी गिरावट दर्ता गरेको छ । धातु बजारको व्यापक बिक्री चापका कारण तामाको मूल्यमा पनि गिरावट देखिएको छ ।

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएसँगै संसारभरका लगानीकर्ताहरु झस्किएका छन् । बहुमूल्य धातु मानिएका सुन र चाँदी तीव्र रूपमा बढेर ऐतिहासिक उच्च तहमा पुगेको मूल्य अचानक उल्टिँदा बजारमा ठूलो गिरावट देखिएको हो । पछिल्ला वर्षहरूमै सबैभन्दा ठूलो गिरावट देखिएपछि लगानीकर्ता अन्यौलमा फसेका छन् । 

सुनको मूल्य १२ प्रतिशतभन्दा बढी घटेर प्रति औंस ५ हजार अमेरिकी डलरभन्दा तल झरेको छ । जुन सन् १९८० को दशकयताकै सबैभन्दा ठूलो दैनिक गिरावट हो । त्यस्तै, चाँदीको मूल्य पनि ३६ प्रतिशतभन्दा बढीले घट्दै इन्ट्रा डे कारोबारमै कीर्तिमानी गिरावट दर्ता गरेको छ । धातु बजारको व्यापक बिक्री चापका कारण तामाको मूल्यमा पनि गिरावट देखिएको छ । लण्डन बजारमा तामाको मूल्य ३.४ प्रतिशतले घटेर अघिल्लो दिनको कीर्तिमानी उच्च बिन्दुबाट तल झरेको छ। अमेरिकी डलर मजबुत भएर वस्तु–आधारित अस्ट्रेलियन डलर र स्वीडिश क्रोनरजस्ता मुद्राहरूमा गिरावट आएको प्रभाव सुन, चाँदी र तामाको मूल्य परेको छ । शुक्रबारको गिरावटलाई अक्टोबरपछिको सबैभन्दा ठूलो धक्काका रुपमा लिइएको छ । अहिले आधारभूत तथ्यभन्दा मूल्यको चाल नै बजारको मुख्य चालक बनेको देखिन्छ ।

पछिल्लो एक वर्षमा सुरक्षित लगानीको रुपमा मानिसहरु बहुमूल्य धातु सुन, चाँदी र तामातर्फ लगानीकर्ताको तिब्र आकर्षण बढेको थियो । बजार विश्लेषकहरूले भने सुन र चाँदीको मूल्य अत्यधिक छिटो बढेकाले सुधार (करेक्सन) को आवश्यकतामा जोड दिइरहेका थिए र शुक्रबारको मूल्य गिरावट त्यसैको निरन्तरता मानिएको छ । मुद्राको अवमूल्यनको चिन्ता, फेडरल रिजर्भको स्वतन्त्रता, व्यापार युद्ध र भूराजनीतिक तनावका कारण जनवरीमा सुनचाँदीको मूल्य बृद्धिले तिब्रता लिएको थियो ।

पछिल्लो समय नेपालमा पनि सुन, चाँदी र तामाजस्ता धातुमा लगानी गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । तर, एकाएक मूल्यमा गिरावट आएसँगै लगानीकर्तामा संशय फैलिएको छ । शुक्रबार नेपाली बजारमा पनि सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले घटेको थियो भने चाँदीको मूल्य प्रतितोला ४४० रुपैयाँ घटेको थियो । बिहीबार सुनको मूल्य अहिलेसम्मकै उच्च ३ लाख ३९ हजार ३ सयमा कारोबार भएकोमा शुक्रबार भने ३ लाख १८ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै, चाँदी पनि बिहीबार ७ हजार ५०५ रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ७ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले केभिन वार्शलाई फेडरल रिजर्भ (फेड) अध्यक्षमा गरेको नियुक्तीलाई लिएर लगानीकर्तामा आशंकाहरु बढेको र यही माहोलमा बहुमुल्य धातुहरु विक्री गर्ने चाप बढेपछि मूल्यमा उच्च गिरावट आएको मानिएको छ । वार्शको नियुक्तीले अमेरिकी डलरलाई बलियो बनाएको र धातुतर्फको लगानी आकर्षणलाई कमजोर बनाएको बताइएको छ । डलर मजबुत हुने संकेतले महिनाको अन्त्यमा पोर्टफोलियो सन्तुलन मिलाउन बिक्री चाप बढाएका कारण मूल्यमा भारी गिरावट आएको हो ।

गोल्डम्यान स्याक्सका अनुसार ठूलो मात्रामा ‘कल अप्सन’ खरिदले मूल्यलाई यान्त्रिक रूपमा माथि धकेलिरहेको थियो । मूल्य घट्न थालेपछि ‘गामा स्क्विज’ का कारण अप्सन विक्रेताले सन्तुलन मिलाउन थप बिक्री गर्दा गिरावट अझ तीव्र बनेको हुन सक्छ । एसपीडीआर गोल्ड सेयर्स ईटीएफ र कोमेक्स बजारमा ठूला अप्सन सम्झौता निश्चित मूल्य बिन्दुमा समाप्त हुने भएकाले उतारचढाव बढेको मानिएको छ ।

धातुको मूल्य घटेसँगै न्यूयोर्क बजारमा न्युमोन्ट, ब्यारिक माइनिङ र एग्निको इगल माइन्स जस्ता प्रमुख सुन उत्पादक कम्पनीका सेयर पनि १० प्रतिशतभन्दा बढीले घटेका छन् । यद्यपि गिरावटपछि पनि जनवरी महिनामा सुन करिब १२ प्रतिशत र चाँदी १६ प्रतिशतले माथि नै छन् । कमर्ज बैंकका विश्लेषकहरूका अनुसार तीव्र मूल्य वृद्धिपछि नाफा सुरक्षित गर्ने अवसर खोजिरहेका लगानीकर्ताले बिक्री बढाउँदा सुधार देखिएको हो । उनीहरूले फेडले बजारले अनुमान गरेभन्दा बढी ब्याजदर कटौती गर्न सक्ने सम्भावना कायमै रहेकाले अझै मूल्यमा गिरावट आउने बताइएको छ । 

ब्लूमबर्गका रणनीतिकार साइमन ह्वाइटका अनुसार सुन–चाँदी अनुपात १९७० दशकको अन्त्यतिरको स्तरजस्तै उक्लिएको छ, जसले सम्भावित मोड बिन्दुको संकेत दिन सक्छ । तर बहुमूल्य धातुको ऐतिहासिक उकालो यात्रा यहीँ टुंगिन्छ कि जारी रहन्छ भन्ने निष्कर्ष निकाल्न अझै हतार हुने साइमन बताउँछन् ।