भुजुङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुल्यो, ५० हजार कित्तासम्म आवेदन दिन सकिने

भुजुङ्ग हाइड्रोपावरमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि सो आईपीओमा आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा माघ १५ गते र ढिलोमा माघ २६ गते हुनेछ ।

काठमाडौं । भुजुङ्ग हाइड्रोपावरले आज (माघ १२ गते) देखि प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये कम्पनीले १० लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु १ लाख कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ ।

कम्पनीले दोस्रो चरणमा कर्मचारीहरुका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषहरुका लागि ५० हजार कित्ता सुरक्षित राखी बाँकी रहेको ८ करोड ३० लाख रुपैयाँबराबरको ८ लाख ३० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो । न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि सो आईपीओमा आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा माघ १५ गते र ढिलोमा माघ २६ गते हुनेछ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग सिंगल बी प्लस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले सञ्चालन गरेको ७.५ मेगावाटको माथिल्लो मिदिम जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ८० करोड ५८ लाख ४९ हजार ६०० रुपैयाँ ७१ पैसा छ भने प्रतिमेगावाट लागत २४ करोड ९० लाख ८२ हजार ७०३ रुपैयाँ ५५ पैसा छ । आयोजनाको विद्युत अनुमतिपत्र ३० वर्ष बाँकी छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.६५ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६.०९ वर्ष छ । सो जलविद्युत आयोजनाबाट कम्पनीले २०८१ बैशाख ६ गतेदेखि नै विद्युत उत्पादन गरिरहेको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल छ । लगानीकर्ताले सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु र मेरो सेयर एपमार्फत पनि आवेदन दिन सक्नेछन् ।