नेपाल र साउदीबीच श्रम सम्झाैतामा हस्ताक्षर, नेपाली श्रमिकलाई न्याय मिल्ने दावी

विज्ञापन
ncell

साउदीमा पछिल्लो समय हरेक वर्ष डेढ लाख हाराहारी श्रमिकहरु रोजगारीको खोजीमा जाने गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा एक लाख ५२ हजार ५५७ जनाले साउदीका लागि श्रम स्वीकृति (पुन: श्रम स्वीकृतिसहित) लिएका थिए ।

काठमाडौं । नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झाैतामा हस्ताक्षर भएकाे छ । साउदीकाे रियादमा साधारण श्रमिक (General Workers) को सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको हाे ।

सम्झौतामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संशाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरे ।

एक दशकभन्दा लामो प्रयासपछि साउदीसँग श्रम समझदारी भएको हो । नेपालले २०७० देखि साउदीसँग श्रम सम्झौताका लागि पटक पटक सम्झौताको मस्यौदा तयार पारिएको थियो । गत भदाै १३ गतेकाे मन्त्रीपरिषद् बैठकले सम्झाैतामा हस्ताक्षर गर्न स्वीकृति दिएको थियो । तर, भदाै २३ र २४ गतेकाे जेनजी आन्दोलनका कारण सरकार ढलेपछि सम्झाैतामा ढिलाई भयाे ।

सम्झौतामा श्रमिकहरूको सेवा सुविधा, कामको अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, श्रम सम्झौता कार्यान्वयन, गुनासो व्यवस्थापन तथा श्रमिक अधिकार संरक्षणलगायतका विषय समेटिएको छ । दुवै देशका कानुन, अन्तर्राष्ट्रिय श्रम मापदण्ड र आपसी समझदारीको आधारमा श्रमिकको हित सुनिश्चित गर्ने व्यवस्था सम्झौतामा छ ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार साउदीमा पछिल्लो समय हरेक वर्ष डेढ लाख हाराहारी श्रमिकहरु रोजगारीको खोजीमा जाने गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा एक लाख ५२ हजार ५५७ जनाले साउदीका लागि श्रम स्वीकृति (पुन: श्रम स्वीकृतिसहित) लिएका थिए भने त्यसअघि २०८०/०८१ मा एक लाख ४१ हजार ५०२ जनाले श्रम स्वीकृति (पुन: श्रम स्वीकृतिसहित) लिएका थिए ।

साउदीमा हाल श्रमिकहरूले न्यूनतम तलब नपाएको, करारपत्र फेरबदल गर्ने गरेको, कम्पनीले घर जान नदिएको, उपचारमा लापरवाही गर्ने गरेको जस्ता समस्या लिएर दूतावास तथा विभागमा उजुरीपर्ने गरेको छ । सम्झौतामा हस्ताक्षर हुनु अघि दुवै देशका श्रम मन्त्रीहरूबीच द्विपक्षीय बैठक भएको थियो ।