पहिलो ‘इप्पान जर्नो अवार्ड’ मिलन विश्वकर्मा र सीमा तामाङलाई

ऊर्जा क्षेत्रमा निरन्तर र गुणस्तरीय रिपोर्टिङ गर्ने एक पुरुष र एक महिला पत्रकारलाई सम्मान गर्ने उद्देश्यसहित इप्पानले यस वर्षदेखि ‘इप्पान जर्नो अवार्ड’ वितरण सुरु गरेको हो ।

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले प्रदान गर्ने पहिलो ‘इप्पान जर्नो अवार्ड–२०२६’ नयाँ पत्रिकाका पत्रकार मिलन विश्वकर्मा र कान्तिपुरकी पत्रकार सीमा तामाङलाई प्रदान गरिएको छ ।

ऊर्जा क्षेत्रमा निरन्तर र गुणस्तरीय रिपोर्टिङ गर्ने एक पुरुष र एक महिला पत्रकारलाई सम्मान गर्ने उद्देश्यसहित इप्पानले यस वर्षदेखि ‘इप्पान जर्नो अवार्ड’ वितरण सुरु गरेको हो । पहिलो वर्षको अवार्ड खुला प्रतिस्पर्धामार्फत छनोट गरिएका विश्वकर्मा र तामाङलाई प्रदान गरिएको इप्पानले जनाएको छ । दुवै पत्रकार लामो समयदेखि ऊर्जा क्षेत्रमा कलम चलाउँदै आएका छन् ।

आइतबार काठमाडौंमा आयोजित २६औं इप्पान डे कार्यक्रमका अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री अनिल कुमार सिन्हाले संयुक्त रूपमा नगद ५१ हजार रुपैयाँसहितको अवार्ड प्रदान गरेका हुन् ।