पिस इनर्जी कम्पनीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल

जलविद्युत आयोजनाको भौतिक कार्य प्रगति हालसम्म ६१ प्रतिशत भन्दा माथि भैसकेको छ र २०८३ कात्तिक १४ सम्म निमार्ण सम्पन्न गरि राष्ट्रिय प्रसारण लाइनमा जोडिने लक्ष्य राखेको छ ।

काठमाडौं । पिस इनर्जी कम्पनीले प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले माछापुच्छ्रे क्यापिटललाई संस्थागत परामर्श सेवाका साथै सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

माछापुच्छ्रे क्यापिटल तथा पिस इनर्जी कम्पनीले प्राथमिक सेयर निष्काशनका लागि संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्न आज पुष २१ गते माछापुच्छ्रे क्यापिटलसँग सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

सम्झौतापत्रमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक संस्था माछापुच्छ्रे क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी पिस इनर्जीको तर्फबाट कार्यकारी अध्यक्ष डा. मदन कुमार उप्रेतीले हस्ताक्षर गरेका छन् । पिस इनर्जीले जारी पुँजीको २० प्रतिशत अर्थात ३२ लाख कित्ता साधारण सेयर सर्वसाधारणमा जारी गर्नेछ ।

पिस इनर्जीले ताप्लेजुङ जिल्लाको सिरिजङ्घा गाउँपालिका भएर बग्ने कावेली खोलाको पानीको बहाव सदुपयोग गरी २८.१ मे.वा. क्षमताको माथिल्लो कावेली जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस जलविद्युत आयोजनाको भौतिक कार्य प्रगति हालसम्म ६१ प्रतिशत भन्दा माथि भैसकेको छ र २०८३ कात्तिक १४ सम्म निमार्ण सम्पन्न गरि राष्ट्रिय प्रसारण लाइनमा जोडिने लक्ष्य राखेको छ ।