इलामका क्षतिग्रस्त सडक र पुल पुनर्निर्माण गर्न २ अर्ब १९ करोडको स्रोत सहमति, ४४ करोड निकासा

विज्ञापन
ncell

क्षतिग्रस्त सडक तथा पुल मर्मत तथा पुनर्निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पेश गरेका कार्यक्रमका आधारमा अर्थ मन्त्रालयले स्रोत सहमति दिएको हो । क्षति भएका मेची राजमार्ग, माइखोला पुल राजदुवाली, माइखोला पुल बेलवासे, पुवाखोला पुल, जोगमाईखोला पुल, मेची करिडोरको मर्मत तथा पुनर्निर्माणमा सो रकम खर्च गरिने छ ।

काठमाडौं । २०८२ असोज १८ र १९ गतेको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति दिएको छ । 

क्षतिग्रस्त सडक तथा पुल मर्मत तथा पुनर्निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पेश गरेका कार्यक्रमका आधारमा अर्थ मन्त्रालयले स्रोत सहमति दिएको हो । क्षति भएका मेची राजमार्ग, माइखोला पुल राजदुवाली, माइखोला पुल बेलवासे, पुवाखोला पुल, जोगमाईखोला पुल, मेची करिडोरको मर्मत तथा पुनर्निर्माणमा सो रकम खर्च गरिने छ । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षवका लागि तत्काल आवश्यक पर्ने ५४ करोड रुपैयाँ निकासा दिएको छ । स्रोत सहमति प्राप्त भएकाले अव सडक तथा पुल पुनर्निर्माणका लागि खरिद (टेण्डर) प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले विपद्बाट क्षतिग्रस्त सडकका संरचना मर्मत तथा पुनर्निर्माणका लागि स्रोत सुनिश्चित भएकाले टेण्डरको प्रक्रिया तत्काल अगाडि बढाउन सडक विभागलाई निर्देशन दिएका छन् । क्षतिग्रस्त सडक तथा पुल मर्मत तथा पुनर्निर्माणको काम विभाग मातहतको सडक डिभिजन कार्यालय, इलामले कार्यान्वयन गर्नेछ । ३९ जनाको मृत्यु र ठूलो भौतिक संरचनामा क्षति पुग्नेगरी मनसुनजन्य विपद् घटना भएपछि सरकारले २३ असोजमा इलामलाई ३ महिनाका लागि ‘विपद् संकटग्रस्त’ घोषणा गरेको थियो ।

२५ असोजमा मन्त्री घिसिङ, सचिव केशवकुमार शर्मा, गृहसचिव रामेश्वर दंगाल, सडक विभागका महानिर्देशक विजय जैसी र राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेशराज भट्टको टोलीले इलाम पुगेर विपद्को क्षति निरीक्षण गरेको थियो ।

सबैभन्दा बढी रकम मेची राजमार्गको पुनर्निर्माणका लागि १ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति दिइएको छ । मेची राजमार्गअन्तर्गतकै माइखोला मोटरेवल स्थायी पुल राजदुवालीका लागि २० करोड, मेची करिडोरको माइखोलामा मोटरेवल स्थायी पुल वेलासेका लागि २५ करोड, पुवाखोला र जोगमाईखोला पुलमा बेली ब्रिज निर्माण गर्न ५.५ करोड र मेची राजमार्गको बैकल्पिक सडकको रुपमा रहेको मेची करिडोरका लागि १४ करोड रुपैयाँको स्रोत सुनिश्चिता दिइएको छ । साथै मेची राजमार्गका लागि २५ करोड, माइखोला राजदुवालीका लागि ५ करोड, माइखोला पुल वेलासेका लागि १० करोड र मेची करिडोरका लागि ४ करोड रुपैयाँ चालु आर्थिक वर्षमा खर्च गर्ने गरि तत्काल आवश्यक निकासा दिइएको छ । त्यसैगरि दुई वटा बेली ब्रिजका लागि आवश्यक सम्पूर्ण रकम निकासा दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।