सङ्कटपछि पर्यटन क्षेत्रमा उत्साव बढेको छ : अर्थमन्त्री खनाल
भदौ महिनामा थोरै ह्रास भए पनि असोज, कात्तिक र मङ्सिरमा आइपुग्दा कर र राजस्व वृद्धि भएको छ । उपभोग र उत्पादन एक हदसम्म बढ्दै गएको छ ।
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले राजनीतिक सङ्कटपछि नेपालको पर्यटन क्षेत्रमा उत्साह बढेको बताएका छन् । गोरखापत्र संस्थानको गोरखापत्र डिस्कोर्स उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले भने, 'नेपालको इतिहासमा सर्वाधिक पर्यटक आगमन अक्टोबर २०२५ मा भएको छ । अंग्रेजी वर्षको अन्तिमा आइपुग्दा यो वर्षकै सबैभन्दा बढी पर्यटनको आगमन होला कि जस्तो भएको छ । यो तथ्याङ्क हेरेपछि नेपाल जुनसुकै सङ्कटबाट पनि पुनर्उत्थानमा चाँडै जान्छ भन्ने ठानेको छु ।’
अर्थमन्त्री खनालले कठिन समय हुँदाहुँदै पनि कच्चा पदार्थको आयातको तथ्याङ्कले उत्पादन बढेको र उपभोग्य वस्तुको आयतले उपभोग र आयात बढेको जानकारी दिए । भदौ महिनामा थोरै ह्रास भए पनि असोज, कात्तिक र मङ्सिरमा आइपुग्दा कर र राजस्व वृद्धि भएको भन्दै अर्थमन्त्री खनालले उपभोग र उत्पादन एक हदसम्म बढ्दै गएको दावी गरे ।
दुई दिन अगानी चिनियाँ लगानीकर्ताको सम्मेलनमा सहभागी भएको जानकारी दिँदै अर्थमन्त्री खनालले अन्तरिम सरकारले गरेका सुधारका कारण चिनियाँ लगानीकर्ता लगानी गर्न उत्साहित भएको बताए । 'सङ्कटपछि लगानीको वातावरण सुधार भएको छ । उत्पादनशील गतिविधि बढाउनका निम्ति पर्याप्त काम नभएको महसुस मैले गरेको छु । हामीले यसको समाधानसमेत सोधेका छौँ', उनले भने, 'सरकारले अधिक तरलता र विदेशी मुद्राको सञ्चयलाई उत्पादन र रोजगारी वृद्धिमा काम गर्नुपर्नेमा जोड दिएको छ । हामीले अधिक तरलता र विदेशी मुद्राको सञ्चयलाई उत्पादन र रोजगारी वृद्धिमा काम गर्नुपर्छ भन्ने सोचमा छौँ ।'
