आज अन्तर्राष्ट्रिय पर्वत दिवस, २ अर्ब मानिस पर्वतीय क्षेत्रको पानीमा निर्भर
हिमालको देश भनेर चिनिने नेपालको कुल भूभागको १५ प्रतिशत भूभाग हिमाली क्षेत्रले ओगटेको छ । हिमाली जडीबुटी, हिमाली जीवजन्तु लगायतको उपलब्धताका हिसाबले नेपाल विश्वमै चर्चित छ ।
काठमाडौं । आज अन्तर्राष्ट्रिय पर्वत दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
संयुक्त राष्ट्र सङ्घको आव्हानमा सन् २००३ देखि हरेक वर्ष ११ डिसेम्बरमा यो दिवस राष्ट्र सङ्घका अधिकांश सदस्य देशमा यो दिवस मनाइने गरेको छ । रोमस्थित राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) को प्रधान कार्यालयमा आज पर्वतीय जीवन, हिमनदी तथा पर्यावरणसम्बन्धी प्रवचन, प्रदर्शनीलगायत विविध कार्यक्रम आयोजना हुँदैछन् । नेपालमा पनि विभिन्न किसिमका कार्यक्रमहरु हुनेछन् ।
हिमालको देश भनेर चिनिने नेपालको कुल भूभागको १५ प्रतिशत भूभाग हिमाली क्षेत्रले ओगटेको छ । हिमाली जडीबुटी, हिमाली जीवजन्तु लगायतको उपलब्धताका हिसाबले नेपाल विश्वमै चर्चित छ । राष्ट्र सङ्घका अनुसार विश्वको २ अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
पछिल्ला वर्षहरूमा पर्वतीय वातावरण तीव्र जोखिममा परेकाले पानी स्रोत जोखिममा परेका छन् । द्रुत गतिमा हिमनदी पग्लिएका छन् । विश्व तापक्रम बढ्ने क्रम जारी रहे अरु हिमनदी हराउने छन् । यसैगरी विश्वको १ करोड ५० लाखभन्दा बढी जनसङ्ख्या हिमनदीहरूको पग्लेर बनेका ताल फुट्ने सम्भावित जोखिमका कारण अत्यधिक संवेदनशील अवस्थामा छन् ।
