पूर्वबैंकर नारायणदास मानन्धरको निधन
५० वर्षभन्दा बढी बैंकमा काम गरेर ८० वर्षको उमेरमा मानन्धर प्राइम कमर्सियल बैंकबाट २०८० साउनमा अवकाश भएका थिए । मानन्धरकै पहलमा प्राइम कमर्सियल बैंक खुलेको थियो ।
काठमाडौं । पूर्व बैंकर नारायणदास मानन्धरको निधन भएको छ । प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत मानन्धरको ८२ वर्षको उमेरमा आइतबार निधन भएको हो ।
उनको शोभाभगवतीमा दाहसंस्कार गरिएको छ । ५० वर्षभन्दा बढी बैंकमा काम गरेर ८० वर्षको उमेरमा मानन्धर प्राइम कमर्सियल बैंकबाट २०८० साउनमा अवकाश भएका थिए ।
संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको पारमर्शदाताका रुपमा काम गरेका मानन्धर राष्ट्रिय वाणिज्य बैंकको कार्यकारी निर्देशक, तत्कालीन नेपाल बंगलादेश बैंक र तत्कालीन लुम्बिनी बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए । तत्कालीन समयमा लुम्बिनी बैंक समस्यामा परेपछि उनलाई राष्ट्र बैंकको रोजाइमा प्रमुख कार्यकारी अधिकृत बनाइएको थियो । मानन्धरकै पहलमा प्राइम कमर्सियल बैंक खुलेको थियो ।
बैंकिड क्षेत्रले मानन्धरलाई व्यवहारिक बैंकरका रुपमा चिन्ने गरेको छ । परम्परागत रुपमा नगद तथा ऋणको कारोबार गर्ने स्थानीय नेवार समुदायदेखि न्यूरोड वरपरका जनतालाई बैंकमा आबद्ध हुन मानन्धरले प्रोत्साहित गरेका थिए ।