घरजग्गा कारोबारको लाइसेन्स खुल्यो, आवेदन दस्तुर १० लाखसम्म
एक पटकमा तीन करोड रुपैयाँभन्दा बढीको कारोबार गर्न इच्छुक फर्म, कम्पनी वा संस्थाले ३० दिनभित्र अनलाइनमार्फत निवेदन पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबारको इजाजतपत्र (लाइसेन्स)का लागि दरखास्त मागेको छ । उक्त विभागले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै घरजग्गा कारोबारको इजाजतपत्र (लाइसेन्स) का लागि दरखास्त आह्वान गरेको हो ।
विभागले असोज २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रलाई कार्यक्षेत्र घोषणा गरेको जनाएको छ । सोही आधारमा अब एक पटकमा तीन करोड रुपैयाँभन्दा बढीको कारोबार गर्न इच्छुक फर्म, कम्पनी वा संस्थाले ३० दिनभित्र अनलाइनमार्फत निवेदन पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
निवेदनका लागि इच्छुकहरूले विभागको वेबसाइटमार्फत मालपोत नियमावली, २०३६ (आठौँ संशोधन २०८२) को अनुसूची–८ मा उल्लिखित कागजात स्क्यान गरी सोही ढाँचामा आवेदन पेस गर्नुपर्नेछ।विभागले यो व्यवस्था घरजग्गा कारोबारमा पारदर्शिता र नियमन कायम गर्नका लागि लागू गरिएको जनाएको छ ।
विभागले एकपटकमा ५ करोड रुपैयाँसम्म कारोबार गर्ने व्यक्ति (फर्म, कम्पनी वा संस्था) को हकमा ५ लाख र एकपटकमा ५ करोडभन्दा घटी वा बढी जतिसुकै रकमको कारोबार गर्ने व्यक्ति (फर्म, कम्पनी वा संस्था)को हकमा १० लाख आवेदन दस्तुर बुझाउनुपर्ने उल्लेख गरेको छ ।