वर्षा र पहिरोका कारण देशभर १७ सडक अवरुद्ध
काठमाडौँ । आज असोज ४ गते विहानसम्म देशभरका विभिन्न १७ सडक अवरुद्ध छन् । वर्षा र तत्पश्चात् आएको पहिरोका कारण यातायात अवरुद्ध भएको हो ।
नारायणगढ-मुग्लिन सडक खण्डको तुइनखोला छेउमा हिजोदेखि झरेको पहिरोको कारण रोकिएको सडक अहिले बिहानसम्म खुलाउन सकिएको छैन । रातभर पनि सवारी आवतजावत अवरुद्ध रहेकोमा पहिरो पन्छाउन नसक्दा कतिबेला बाटो सञ्चालन गर्न सकिन्छ भन्ने यकिन नभएकोले डिभिजन सडक कार्यालय चितवनले वैकल्पिक बाटो प्रयोग गर्न यात्रुहरुलाई अनुरोध गरेको छ ।
रसुवाको गल्छी–त्रिशूली–मेलुङ्ग–स्याप्रुबेंशी–रसुवागढी सडक खण्ड अवरुद्ध छ । यता हुम्लाको कर्णाली कोरिडोरको खुलालु–सल्लीसल्ला सडक खण्ड पनि पहिरोको कारण अवरुद्ध छ ।
संखुवासभामाको कोशी सडक आयोजनाको लेगुवाघाट–तुम्लिङ्गटार–खाँदबारी खण्ड पनि अवरुद्ध रहेको छ ।ताप्लेजुङको मेलघाट दोभान सडक खण्ड, रुकुम पश्चिमको भेरी करिडोर, रोल्पाको सहिद मार्ग सडक आयोजनामा निरन्तरको वर्षा र पहिरोका कारण सडक बन्द भएको छ ।
सुर्खेत, सङ्खुवासभा, सिन्धुपाल्चोक, म्याग्दी, बैतडी, अर्घाखाँची, ओखलढुङ्गा, चितवनका विभिन्न सडक खण्ड पहिरोको कारण अवरुद्ध छन् ।