सूचीकृत ११ कम्पनीको लाभांसः बोनस सेयरमै जोड, माछापुच्छ्रेले दिनसक्छ दशैंअघि दक्षिणा
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण पुँजी बजारको गतिविधिहरु पनि एक साता पछि सरेका बेला कम्पनीहरुको लाभांस घोषणा र वितरणको समय पनि स्वभािवक रुपमा पछि सरेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ११ कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट लाभांश दिने प्रस्ताव गरेका छन् । असोज ३ गतेसम्म लाभांस घोषणा गरेका कम्पनीहरुले न्युनतम ६ प्रतिशतदेखि अधिकतम् २१ प्रतिशतसम्म नाफा बाँड्ने भएका छन् ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण पुँजी बजारको गतिविधिहरु पनि एक साता पछि सरेका बेला कम्पनीहरुको लाभांस घोषणा र वितरणको समय पनि स्वभािवक रुपमा पछि सरेको छ । लाभांस घोषणा गरेकामध्ये अधिकांस कम्पनीले बोनस सेयर दिने भएका छन् । जेनजी आन्दोलन कारण कतिपय कम्पनीको साधारणसभा केही दिन स्थगन हुँदा लाभांश दिने समयसमेत पछाडि सरेको छ ।
अहिलेसम्म दुई वटा बैंक, चार वटा जलविद्युत कम्पनी, दुई वटा इन्भेष्टमेन्ट कम्पनी, दुई वटा विकास बैंक र एउटा उत्पादनमूलक क्षेत्रको कम्पनीले लाभांश घोषणा गरेका छन् । अहिलेसम्म लाभांश घोषणा गरेका कम्पनीहरुमध्ये हाथवे इन्भेष्टमेन्ट नेपालले गत भदौ ३१ गते साधारणसभा गरिसकेको छ । हाथवेले १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांस दिएको छ ।
माछापुच्छ्रे बैंकले भदौ २७ गते बुक क्लोज गरेर असोज १० गते साधारणसभा डाकेको छ । माछापुच्छ्रे बैंकले चाहेको खण्डमा दशैंको फुलपाती अगाडि लगानीकर्ताका खातामा नगद लाभांश बापतको रकम हस्तान्तरण गर्न सक्छ । माछापुच्छ्रेले ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर गरी कुल ८ प्रतिशत लाभांश घोषणा गरेको छ । कामना सेवा विकास बैंक र युनिभर्सल पावर कम्पनीले असोज ८ गते बुक क्लोजको मिति तोकेको छ भने कामना सेवाले असोज २४ गते तथा युनिभर्सल पावरले असोज २३ गते साधारणसभा बोलाएका छन् । कामना सेवाले १० प्रतिशत बोनस सेयर र ५.७९ प्रतिशत नगद गरि १५.७९ प्रतिशत लाभांस प्रस्ताव गरेको छ भने युनिभर्सल पावरले ९ प्रतिशत बोनस र ०.४७ प्रतिशत कर प्रयोजनका लागि नगद गरि ९.४७ प्रतिशत लाभांस घोषणा गरेको छ ।
त्यस्तै नेपाल ल्युव आयलले असोज ३१ गते साधारणसभा र असोज १२ गते बुक क्लोजको मिति तय गरेको छ । नेपाल ल्युवले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगख लाभांस गरि २१.०५ प्रतिशत लाभांस प्रस्ताव गरेको छ । लाभांश घोषणा गरेका कम्पनीहरुमध्ये सबैभन्दा बढी लाभांस नेपाल ल्यूव आयलकै हो । नेपाल ल्युवले हकप्रद सेयर विक्रीको प्रस्तावसमेत अघि सारेको छ । १ बराबर २ को अनुपातमा हकप्रद निष्काशन गर्न नेपाल ल्युवले दिएको आवेदन अहिले नेपाल धितोपत्र बोर्डमा विचाराधिन छ । लाभांस घोषणा गरेका अन्य कम्पनीहरुले भने असोज ३ गतेसम्म साभारणसभा मिति तय गरेका छैनन् ।
नेपाल ल्युवपछि बढी लाभांस घोषणा गर्नेमा एभरेष्ट बैंक छ । एभरेस्ट बैंकले १४ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयरसहित २० प्रतिशत लाभांश घोषणा गरेको छ ।
उता, मुक्तिनाथ विकास बैंकले ४.६७ प्रतिशत नगद र १३.५३ प्रतिशत बोनससहित १८.२० प्रतिशत लाभांस घोषणा गरेको छ भने कामना सेवा विकास बैंकले ५.७९ प्रतिशत नगद र १० प्रतिशत बोनशसहित १५.७९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । त्यसैगरि सिक्लेस र मिडसोलु हाइड्रोपावरले कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद र १५ प्रतिशत बोनससहित १५.७८९ प्रतिशत लाभांस घोषणा गर्दा अरुण भ्याली हाइड्रोपावरले ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरि ८.४२१ प्रतिशत लाभांस प्रस्ताव गरेको छ । युनिभर्सल पावर कम्पनीले पनि कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद र ९ प्रतिशत बोनस सेयर गरि ९.४७ प्रतिशत लाभांस प्रस्ताव गरेको छ ।
त्यस्तै, नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) ले चालू वर्ष ६ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ । निफ्राले गत वर्ष लाभांस दिन सकेको थिएन ।