जेन–जी आन्दोलनमा मृतक ७४ जनाको शोकमा पत्रकार महासंघद्वारा दीप प्रज्वलन

काठमाडौं । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा सहादत प्राप्त गरेका ७४ जनाको सम्झनामा नेपाल पत्रकार महासंघले बुधबार साँझ माइतिघरमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ । नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले जेनजी प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा महासंघका पदाधिकारीसहित विभिन्न सञ्चार संस्थाका पत्रकारहरूको उपस्थितिमा श्रद्धाञ्जलि स्वरूप दीप प्रज्वलन गरिएको हो ।

सरकारले पनि जेन–जी आन्दोलनमा शहीद भएकाहरूको सम्मानमा असोज २ गते (आज) देशभर सार्वजनिक बिदा दिएको छ ।

आन्दोलन शान्तिपूर्ण बनाइरहेका प्रदर्शनकारीहरूलाई नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा उनीहरूले सहादत प्राप्त गरेका थिए । कार्यक्रममा सहभागी पत्रकारहरूले सहिदहरूलाई सम्मान गर्न दीप प्रज्वलन गर्दै ‘सहिदको बलिदानलाई नबिर्सौं, लोकतन्त्र र नागरिक अधिकारको रक्षा गरौं’ भन्ने सन्देश दिएका थिए ।