इजरायली राजदूत र उद्योग संगठन मोरङबीच द्विपक्षीय व्यापार विस्तारमा छलफल

विज्ञापन
ncell

विराटनगर । नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरिक वास र उद्योग संगठन मोरङका पदाधिकारीबीच बिहीबार विराटनगरमा द्विपक्षीय व्यापार विस्तार र व्यावसायिक सहकार्यका विषयमा छलफल भएको छ ।

छलफलका क्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले नेपाल र इजरायलबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ पार्न संयुक्त उद्यम र लगानीका सम्भावना खोज्नुपर्नेमा जोड दिए ।

उनले विशेषगरी इजरायलको प्रविधि, नवप्रवर्तन र आधुनिक कृषि अभ्यासबाट नेपालले लाभ लिन सक्ने बताए । राठीले हरितगृह प्रविधि, बाली व्यवस्थापन र प्रशोधन जस्ता क्षेत्रमा इजरायलसँग ज्ञान आदानप्रदान र तालिम कार्यक्रममार्फत सहकार्य गर्न सकिने धारणा राखे ।

संगठनका उपाध्यक्ष विपिन काबराले दुई देशबीच व्यापार वृद्धि गर्न सीधा हवाई कार्गो सेवा सञ्चालन गर्न पहल गर्नुपर्ने माग गरे ।

यस्तै, कोषाध्यक्ष तथा अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन समितिका संयोजक पारस लुनियाले नेपाल र इजरायलबीच वार्षिक ९ मिलियन अमेरिकी डलरभन्दा बढीको व्यापार भए पनि व्यापार सन्तुलन इजरायलको पक्षमा रहेको तथ्यांक प्रस्तुत गरे ।

उनले नेपालबाट गलैँचा, हस्तकला र छालाजन्य वस्तु निर्यात हुने र इजरायलबाट औषधि तथा दूरसञ्चार उपकरण आयात हुने जानकारी दिए ।

कृषि तथा कृषि प्रविधि विशेषज्ञता र सूचना प्रविधिका साथै औद्योगिक क्षेत्रमा सहकार्यका लागि सम्भावनायुक्त कोशी प्रदेशमा संयुक्त पाइलट परियोजनाहरू सञ्चालन गर्न सकिने सम्भावना रहेको लुनियाले बताए ।

छलफलमा राजदूत वासले नेपाल र इजरायलबीच सम्बन्धलाई अझ बलियो बनाउन व्यापारिक सम्बन्ध विस्तारका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले नेपालबाट आयात गर्न सकिने सम्भावित वस्तुबारे थप अध्ययन गर्न आवश्यक रहेको बताए । वासले इजरायलको प्राविधिक विशेषज्ञता र अनुभव नेपालको उत्पादनशीलता वृद्धि, कृषि आधुनिकीकरण र उद्यमशीलता विकासमा सहयोगी हुन सक्ने भन्दै प्रविधि हस्तान्तरणका लागि इजरायल सकारात्मक रहेको स्पष्ट पारे ।

उनले व्यापार र व्यवसाय केबल आर्थिक वृद्धिको माध्यम मात्र नभई सामाजिक रूपान्तरणका लागि पनि एक महत्वपूर्ण आधार भएको बताए ।

नेपाल र इजरायलबीच दीर्घकालीन सौहार्द्रपूर्ण सम्बन्धलाई अझ मजबुत पार्ने उद्देश्यले व्यापारिक सम्बन्ध विस्तारका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।