कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक सोमबार बिहान ५ बजेसम्म बन्द

विज्ञापन
ncell

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले आज अपराह्न ४ बजेदेखि सोमबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा दुवैतर्फ सवारी संचालन रोक्ने निर्णय गरिएको जानकारी दिए ।

काठमाडौं । लगातारको वर्षाका कारण कुलेखानी जलाशयको पानीको सतह बढ्नेक्रम नरोकिएपछि देउराली-सिस्नेरी सडकखण्डमा आज अपराह्न ४ बजेदेखि सवारी आवागमन बन्द गरिने भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले आज अपराह्न ४ बजेदेखि सोमबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा दुवैतर्फ सवारी संचालन रोक्ने निर्णय गरिएको जानकारी दिए ।

उनका अनुसार जलाशयको सतह निरन्तर बढिरहेका अवस्थामा रातिको समयमा आकस्मिक परिस्थिति उत्पन्न भई बाँधबाट पानी निकास गर्नुपर्ने अवस्था आउनसक्ने भएकाले पूर्वसावधानीस्वरूप सवारी आवागमन बन्द गर्न लागिएको हो ।

‘सवारी चलिरहेको अवस्थामा चेतावनीको साइरन बज्दा चालक तथा यात्रुमा त्रास सिर्जना हुनसक्ने र आकस्मिक रूपमा पानी निकास गर्नुपर्ने अवस्था आए सडकखण्डका केही स्थान जोखिममा पर्नसक्ने भएकाले समयमै आवागमन रोक्ने निर्णय गरिएको हो,’ अधिकारीले भने ।

प्रशासनका अनुसार भैँसे हुँदै देउराली-सिस्नेरीतर्फ जाने तथा काठमाडौंको फर्पिङ हुँदै सिस्नेरी-देउराली-हेटौँडातर्फ आउने सवारीसमेत सो अवधिमा संचालन गर्न पाइने छैन। अत्यावश्यक रूपमा काठमाडौँ-हेटौँडा यात्रा गर्नुपर्ने यात्रुलाई त्रिभुवन राजपथ प्रयोग गर्न आग्रह गरिएको छ ।

उक्त राजपथमा पनि जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको समयतालिकाअनुसार मात्रै सवारी संचालन गर्नुपर्ने प्रशासनले जनाएको छ । प्रजिअ अधिकारीले हाल कुलेखानी बाँधको ढोका खोलिएको नभई सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्वसावधानी अपनाइएको बताए । जलाशय र तल्लो तटीय क्षेत्रको अवस्थाको निरन्तर निगरानी भइरहेको प्रशासनले जनाएको छ ।