बाढीपहिरोले विद्युत् प्रणालीमा ठूलो क्षति, १ हजार ३०३ मेगावाट बराबरको प्रणाली प्रभावित

विज्ञापन
ncell

प्रसारण लाइनमा फाल्ट आउनुका साथै जलविद्युत् आयोजना र सबस्टेसनका उपकरणमा समस्या देखिएपछि विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको हो ।

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरण प्रणाली प्रभावित भएको छ। प्रसारण लाइनमा फाल्ट आउनुका साथै जलविद्युत् आयोजना र सबस्टेसनका उपकरणमा समस्या देखिएपछि विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार पोखरा, बुटवल, हेटौंडा र काठमाडौं क्षेत्रमा विद्युत् प्रणालीमा उल्लेख्य असर परेको छ । विभिन्न समयमा भएका उत्पादन, प्रसारण लाइन र लोडसम्बन्धी अवरोध जोड्दा करिब १ हजार ३०३ मेगावाट बराबरको प्रणाली प्रभावित भएको मन्त्रालयले जनाएको छ। यो एउटै समयमा भएको विद्युत् अवरोध भने होइन ।

पोखरा क्षेत्रमा बढी असर

पोखरा क्षेत्रमा सबैभन्दा ठूलो प्रभाव परेको छ । कुस्मा–न्यू बुटवल २२० केभी प्रसारण लाइनमा फाल्ट आउँदा करिब २०० मेगावाट प्रभावित भएको छ भने रौघाट–दाना लाइनका दुवै सर्किटमा आएको समस्याले करिब १५५ मेगावाट असर परेको छ । बाढीका कारण कालीगण्डकी, अपर मादी, सुपर मादी, सिक्लेस–नामर्जुङ, सेती नदी–करुवासेट, अपर दोर्दी र मोदीलगायत जलविद्युत् आयोजनाको उत्पादन तथा आपूर्तिमा समेत समस्या आएको छ। पोखरा क्षेत्रका आयोजनामा मात्रै ४०० मेगावाटभन्दा बढी क्षमतामा असर परेको जनाइएको छ । रौघाट क्षेत्रमा न्यू बुटवल–कुस्मा २२० केभी लाइनमा आएको फाल्टबाट करिब ११० मेगावाट प्रभावित भएको छ ।

बुटवल र हेटौंडामा पनि समस्या

बुटवल क्षेत्रमा न्यू भारतपुर–न्यू बुटवल २२० केभी लाइनमा रुख ढलेपछि फाल्ट आएको थियो । चापर–पथलैया १३२ केभी लाइन अवरुद्ध हुँदा कावासोती सबस्टेसनमा करिब एक घण्टा लोड कटौती गरिएको थियो । हेटौंडाको माण्डु ६६ केभीमा बाढीका कारण करिब ३२ मेगावाट प्रभावित भएको छ । भारतपुर सबस्टेसनमा सीभीटी जलेपछि आपूर्तिमा समेत समस्या आएको छ । सिमरा सबस्टेसन, अमलेखगञ्ज, परवानीपुर, वीरगञ्ज तथा काम्ने क्षेत्रका उद्योगमा पनि विद्युत् आपूर्ति प्रभावित भएको छ ।

काठमाडौं उपत्यकामा छोटो समय अवरोध

काठमाडौं उपत्यकाको पाटन र टेकु क्षेत्रमा पनि केही समय विद्युत् अवरोध भएको थियो । पाटन सबस्टेसनमा पथलैया तथा केएल–१ स्युचाटार ६६ केभी लाइन एकैपटक ओभरलोड भएपछि समस्या आएको जनाइएको छ । नियमित आपूर्तिमा समस्या भएपछि आपत्कालीन वैकल्पिक आपूर्ति प्रयोग गरिएको थियो । कावासोती, हरदी, सुनवल–मैनिया, बुटवल, सिमरा, अमलेखगञ्ज, परवानीपुर र वीरगञ्ज क्षेत्रमा समेत विभिन्न समयमा लोड कटौती गरिएको विवरणमा उल्लेख छ ।

मर्मत तथा पुनःस्थापनामा टोली परिचालन

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार क्षतिको प्रारम्भिक विवरण संकलनसँगै प्रभावित क्षेत्रमा प्राविधिक तथा मर्मत टोली परिचालन गरिएको छ । सम्भव भएका स्थानमा वैकल्पिक फिडर तथा उपलब्ध प्रसारण–वितरण संरचनामार्फत विद्युत् आपूर्ति सञ्चालन गर्ने प्रयास भइरहेको उनले बताए ।

बाढीपहिरोका कारण कतिपय सडक तथा पहुँचमार्ग अवरुद्ध भएकाले प्राविधिक टोलीलाई प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भइरहेको प्राधिकरणले जनाएको छ । पहुँच सहज हुनेबित्तिकै थप जनशक्ति, उपकरण र सामग्री परिचालन गरी क्षतिग्रस्त संरचनाको मर्मत तथा विद्युत् आपूर्ति पुनःस्थापनालाई तीव्रता दिइने प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले विपद्का कारण केही स्थानमा विद्युत् आपूर्ति प्रभावित भए पनि सकेसम्म छिटो सेवा नियमित गर्न सबै स्रोतसाधन परिचालन गरिएको जनाएको छ। साथै ढलेका पोल, तार तथा क्षतिग्रस्त विद्युत् संरचनाबाट टाढा रहन उपभोक्तालाई आग्रह गरेको छ ।