हिमलुङ हिमालमा हिमपहिरो, १० आरोही तथा सहयोगी सम्पर्कविहीन

विज्ञापन
ncell

काठमाडौं । मनाङको नार–फू क्षेत्रमा रहेको ७ हजार १२६ मिटर अग्लो हिमलुङ हिमालमा हिमपहिरो जाँदा १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन भएका छन् । एक्सपिडिसन अपरेटर्स एसोसिएसन नेपालका अनुसार हिमलुङ आरोहणका क्रममा रहेका दुई छुट्टाछुट्टै कम्पनीका १० जना हिमपहिरोमा परेपछि सम्पर्कमा आउन सकेका छैनन् । प्रारम्भिक विवरणअनुसार इम्याजिन नेपाल प्रालिका २ जना र हिमालयन होलिडेज नेपालका ८ जना सम्पर्कविहीन छन् ।

एसोसिएसनका अनुसार घटनाको यकिन विवरण भने अझै प्राप्त भइसकेको छैन । हिमलुङ हिमालको बेसक्याम्पसम्म २४ जना आरोही पुगेका थिए । तीमध्ये टोलीको अग्रभागमा रहेका १० जनासँग सम्पर्क हुन नसकेको प्रारम्भिक जानकारी आएको हो ।

हाल हिमाल आरोहणको मुख्य सिजन चलिरहेका कारण हिमलुङ क्षेत्रमा अन्य आरोही टोलीसमेत पुगेका छन् । हिमपहिरोको घटनाबारे सूचना प्राप्त भएपछि सम्बन्धित निकायले अवस्थाबारे थप विवरण संकलन गरिरहेका छन् ।

पर्यटन विभागले पनि घटनाबारे जानकारी प्राप्त भएको जनाएको छ। विभागले सम्पर्कविहीन आरोहीहरूको अवस्था पहिचान गर्न तथा सम्भावित उद्धारका लागि आवश्यक समन्वय अघि बढाएको जनाएको छ ।

पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले घटनाको थप विवरण संकलन भइरहेको र उद्धार तथा खोजीका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको बताएका छन् । घटनाको विस्तृत विवरण तथा सम्पर्कविहीन आरोहीहरूको अवस्थाबारे थप जानकारी आउन बाँकी छ ।