परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता
उनीहरूबीच श्रम, व्यापार, लगानी, पर्यटन, नवीकरणीय ऊर्जा तथा बहुपक्षीय मञ्चमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।
काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र आर्मेनियाका विदेशमन्त्री अरारात मिर्जोयानबीच भेटवार्ता भएको छ ।
भेटमा आपसी हित र चासोका साथै नेपाल र आर्मेनियाबीचको मैत्रीपूर्ण तथा सहकार्यात्मक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणमा सहकार्य, नवीकरणीय ऊर्जा, सूचना प्रविधि तथा बहुपक्षीय मञ्चमा साझा विषय उठाउनेबारे पनि विचारविमर्श भएको थियो ।
यसैगरी, परराष्ट्रमन्त्री खनालले संयुक्त अरब इमिरेट्स (यूएई) का विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानसँग पनि भेटवार्ता गरेका छन् । भेटमा खनालले नेपालप्रति सद्भाव दर्शाउँदै २५ मिलियन अमेरिकी डलर प्रदान गर्ने युएईको प्रतिबद्धताप्रति कृतज्ञता व्यक्त गरेका थिए । उनीहरूबीच श्रम, व्यापार, लगानी, पर्यटन, नवीकरणीय ऊर्जा तथा बहुपक्षीय मञ्चमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।
