कृषिजन्य वस्तुको आयात दुई महिनामै २८ अर्बले बढ्यो, खानेतेल र तरकारीमा उच्च वृद्धि

विज्ञापन
ncell

गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा यस्तो आयात ५९ अर्ब १८ करोड ६२ लाख रुपैयाँ थियो। यस आधारमा एक वर्षको अवधिमा कृषि तथा खाद्य वस्तुको आयात २७ अर्ब ९२ करोड २९ लाख रुपैयाँले बढेको देखिन्छ ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती दुई महिनामा नेपालमा कृषि तथा खाद्यजन्य वस्तुको आयात उल्लेख्य रूपमा बढेको छ। भन्सार विभागको तथ्यांकअनुसार साउन र भदौमा मात्रै कृषि तथा खाद्य वस्तुको आयात ८७ अर्ब १० करोड ९१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा यस्तो आयात ५९ अर्ब १८ करोड ६२ लाख रुपैयाँ थियो। यस आधारमा एक वर्षको अवधिमा कृषि तथा खाद्य वस्तुको आयात २७ अर्ब ९२ करोड २९ लाख रुपैयाँले बढेको देखिन्छ ।

आयात वृद्धिमा सबैभन्दा ठूलो हिस्सा वनस्पति तथा पशुपन्छीजन्य चिल्लो पदार्थ तथा तेलको रहेको छ । गत वर्षको पहिलो दुई महिनामा २७ अर्ब ४१ करोड २० लाख रुपैयाँको यस्तो वस्तु आयात भएकोमा चालु वर्षमा यो रकम बढेर ४८ अर्ब ५७ करोड १० लाख रुपैयाँ पुगेको छ । यस्तै तेलहन, गेडागुडी, औद्योगिक तथा औषधीय वनस्पति र घाँसपातको आयात पनि तीव्र रूपमा बढेको छ । गत वर्ष २ अर्ब ७३ करोड ५५ लाख रुपैयाँको आयात भएको यो समूहमा चालु वर्षको पहिलो दुई महिनामा ८ अर्ब ८५ करोड ९५ लाख रुपैयाँ खर्च भएको छ ।

तरकारी तथा कन्दमूलको आयातमा पनि उल्लेख्य वृद्धि भएको छ । गत वर्ष साउन–भदौमा ५ अर्ब ५३ करोड १ लाख रुपैयाँको तरकारी आयात भएकोमा यस वर्ष सोही अवधिमा ७ अर्ब ९३ करोड २५ लाख रुपैयाँ पुगेको छ। यो ४३ प्रतिशतभन्दा बढीको वृद्धि हो । तर सबै कृषि तथा खाद्य वस्तुको आयात भने बढेको छैन । धान, चामल, मकै र गहुँलगायत प्रमुख खाद्यान्नको आयात घटेको छ । गत वर्ष ८ अर्ब ७९ करोड ७९ लाख रुपैयाँको खाद्यान्न आयात भएकोमा चालु वर्षमा यो रकम ६ अर्ब ३ करोड ५३ लाख रुपैयाँमा सीमित भएको छ ।

फलफूल, ओखर तथा बदामजन्य वस्तुको आयातमा पनि सामान्य कमी आएको छ । गत वर्ष ५ अर्ब ६४ करोड ८१ लाख रुपैयाँको आयात भएकोमा चालु वर्षमा ५ अर्ब ५९ करोड ५१ लाख रुपैयाँको आयात भएको तथ्यांक छ ।

यसैबीच जीवित जनावर, मासु तथा माछाको आयात भने बढेको छ। जीवित जनावरको आयात १ करोड ४१ लाखबाट बढेर ९ करोड ४ लाख रुपैयाँ पुगेको छ। मासुको आयात ६ लाख ४९ हजारबाट ३२ लाख ३५ हजार रुपैयाँ पुगेको छ भने माछा तथा जलचरको आयात १५ करोड ९१ लाखबाट बढेर २३ करोड ९६ लाख रुपैयाँ पुगेको छ।

अर्कोतर्फ दुग्धजन्य पदार्थ, अण्डा तथा प्राकृतिक महको आयात घटेको छ । गत वर्षको पहिलो दुई महिनामा १५ करोड ५९ लाख रुपैयाँको यस्तो वस्तु आयात भएकोमा चालु वर्षमा ६ करोड ९९ लाख रुपैयाँमा झरेको छ ।

चिया, कफी तथा मसलाजन्य वस्तुको आयात पनि सामान्य घटेको छ । गत वर्ष २ अर्ब १७ करोड ६० लाख रुपैयाँको आयात भएकोमा चालु वर्षमा २ अर्ब ३ करोड ४५ लाख रुपैयाँ बराबरको आयात भएको छ। यो समूहबाट नेपालले ३ अर्ब ४ करोड २० लाख रुपैयाँ बराबरको वस्तु निर्यातसमेत गरेको छ ।

त्यस्तै, चिनी तथा चिनीजन्य वस्तुको आयात १ अर्ब रुपैयाँबाट घटेर ९२ करोड ३५ लाख रुपैयाँमा आएको छ । भने कोको तथा चकलेटजन्य उत्पादनको आयात २५ करोड ८१ लाखबाट बढेर ४१ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।

अन्न तथा पिठोबाट बन्ने बेकरी र बिस्कुटजन्य तयारी खाद्य पदार्थको आयातसमेत बढेको छ । गत वर्ष १ अर्ब २६ करोड ८७ लाख रुपैयाँको आयात भएकोमा चालु वर्षमा १ अर्ब ३५ करोड २८ लाख रुपैयाँ पुगेको छ ।

समग्र तथ्यांकले नेपालमा प्रमुख खाद्यान्न र दुग्धजन्य वस्तुको आयात केही घटेको देखाए पनि खानेतेल, तेलहन तथा तरकारीको आयातमा तीव्र वृद्धि भइरहेको देखाउँछ। यसले कृषि तथा खाद्य क्षेत्रमा आयातको संरचना परिवर्तन भइरहेको संकेत गरेको छ ।