कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन
प्रमुख राउतका अनुसार कूल १०६ मेगावाट क्षमताको कुलेखानी आयोेजनाको पहिलो, दोस्रो र तेस्रो युनिटबाट क्रमशः ६०, ३२ र १४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।
बागमती । मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा जल सतह बढ्न नदिनका लागि तीनवटै युनिटमा पूर्ण रुपमा विद्युत् उत्पादन गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाको भारी वर्षासम्मको प्रक्षेपणका साथै पानी पर्ने क्रम लगातार भइरहेका अवस्थामा जल सतह बढ्ने र यसका कारण हुनसक्ने जोखिमसमेतलाई दृष्टिगत गरी पूर्ण क्षमतामा विद्युत् उत्पादन गरी पानीको अधिकतम प्रयोग भइरहेको कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतले जानकारी दिए ।
हाल कुलेखानी जलाशयको जल सतह एक हजार ५२२.७५ मिटर रहेको जानकारी दिँदै उनले तीनवटै युनिटबाट पूर्ण रुपमा विद्युत् उत्पादन भइरहेका कारण जल सतह धेरै बढ्न नसकेको जानकारी दिए । प्रमुख राउतका अनुसार कूल १०६ मेगावाट क्षमताको कुलेखानी आयोेजनाको पहिलो, दोस्रो र तेस्रो युनिटबाट क्रमशः ६०, ३२ र १४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।
जल सतह एक हजार ५२७ मिटर पुगेपछि सर्वसाधारणलाई सम्भाव्य जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन चेतावनीस्वरुप साइरन बज्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
