द न्युयोर्क टाइम्समा बालेनको कालो चस्मा र पहिरनको चर्चा
अमेरिकी अखबार द न्युयोर्क टाइम्सले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहले कालो चस्मा नखोली सम्बोधन गरेको प्रसङ्गलाई समेट्दै उनको पहिरन र सार्वजनिक शैलीबारे सामग्री प्रकाशित गरेको हो ।
न्युयोर्क । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको सार्वजनिक पहिचानसँग जोडिएको कालो चस्माले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समेत चर्चा पाएको छ । अमेरिकी अखबार द न्युयोर्क टाइम्सले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहले कालो चस्मा नखोली सम्बोधन गरेको प्रसङ्गलाई समेट्दै उनको पहिरन र सार्वजनिक शैलीबारे सामग्री प्रकाशित गरेको हो ।
सेप्टेम्बर २४ मा प्रकाशित सामग्रीमा द न्युयोर्क टाइम्सले शाहले राजनीतिक जीवनको विभिन्न चरणमा कालो चस्मालाई आफ्नो पहिचानको हिस्साका रूपमा निरन्तरता दिँदै आएको उल्लेख गरेको छ । र्यापरका रूपमा परिचित हुँदादेखि काठमाडौं महानगरपालिकाको मेयर र त्यसपछि प्रधानमन्त्री बनेसम्म उनको सार्वजनिक उपस्थितिमा कालो चस्मा देखिँदै आएको समाचारमा चर्चा गरिएको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा विश्वका विभिन्न मुलुकका प्रतिनिधिमाझ सम्बोधन गर्दा पनि शाहले आफ्नो परिचित शैलीलाई कायम राखेको विषयलाई अखबारले विशेष रूपमा उल्लेख गरेको छ । उनको पहिरन र चस्माले सामाजिक सञ्जाल तथा सार्वजनिक वृत्तमा समेत लामो समयदेखि ध्यान आकर्षित गर्दै आएको बताइएको छ ।
समाचारमा शाहको कालो चस्मा केवल व्यक्तिगत पहिरनमा सीमित नरहेको र विस्तारै उनको सार्वजनिक छविसँग जोडिएको प्रतीकजस्तै बनेको उल्लेख छ । नेपालमा समेत उनको शैलीबाट प्रभावित भएर त्यस्तै प्रकारका कालो चस्माको माग र बिक्री बढेको प्रसङ्ग सामग्रीमा समेटिएको छ ।
यद्यपि, चस्मा लगाउनुको कारणलाई लिएर विभिन्न अनुमान भइरहे पनि प्रधानमन्त्रीको कार्यालयले भने स्वास्थ्यसम्बन्धी कारण स्पष्ट पारेको छ। कार्यालयका अनुसार चिकित्सकको सल्लाहअनुसार आँखालाई अत्यधिक उज्यालोबाट जोगाउन प्रधानमन्त्री शाहले कालो चस्मा प्रयोग गर्ने गरेका हुन् ।
यसरी द न्युयोर्क टाइम्सले प्रधानमन्त्री शाहको राजनीतिक गतिविधिसँगै उनको व्यक्तिगत शैली र सार्वजनिक प्रस्तुतिलाई समेत अन्तर्राष्ट्रिय चासोको विषयका रूपमा प्रस्तुत गरेको छ । विशेषगरी सार्वजनिक कार्यक्रममा उनको पहिरनको एक स्थायी हिस्सा बनेको कालो चस्मालाई लिएर अखबारले त्यसको पृष्ठभूमि र प्रभावबारे चर्चा गरेको हो ।
