बैंकलाई सेयर–डिबेञ्चरमा लगानी गर्न लचिलो नीति, अब ४५ दिन होल्ड गरे पुग्ने

विज्ञापन
ncell

संशोधित निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाको लगानी नीतिमा लगानीको उद्देश्य तथा रणनीति, बैंकिङ बुक र ट्रेडिङ बुकमा वर्गीकरण, होल्डिङ अवधि तथा स्वार्थको द्वन्द्व व्यवस्थापनसम्बन्धी स्पष्ट व्यवस्था हुनुपर्नेछ ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई सेयर तथा डिबेञ्चरमा लगानी गर्न थप लचिलो व्यवस्था गरेको छ। राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै धितोपत्रमा गरिएको लगानी न्यूनतम ४५ दिन होल्ड गरे पुग्ने व्यवस्था गरेको हो ।

नयाँ व्यवस्थाअनुसार सर्वसाधारणमा सेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेका संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्दा कम्तीमा ४५ दिन होल्ड गर्नुपर्नेछ । यसअघि यस्तो लगानी न्यूनतम ६ महिना होल्ड गर्नुपर्ने व्यवस्था थियो ।

यद्यपि, कुनै पनि किसिमको प्रबन्धमार्फत संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा अल्पकालीन लगानी गर्न नपाउने साविकको व्यवस्था भने यथावत् राखिएको छ। अर्थात् होल्डिङ अवधि घटाइए पनि सट्टेबाजी उद्देश्यले गरिने अल्पकालीन लगानीमा राष्ट्र बैंकले कडाइ कायमै राखेको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरूका लागि आर्थिक वर्ष २०८३/८४ को काउन्टरसाइक्लिकल बफर शून्य प्रतिशत कायम गरेको छ । साथै, बैंक तथा वित्तीय संस्थाले सरकारी सुरक्षणपत्र, राष्ट्र बैंक ऋणपत्र, सेयर तथा डिबेञ्चरलगायतका उपकरणमा लगानी गर्दा सट्टेबाजी जोखिम न्यूनीकरण हुने गरी स्पष्ट नीति तथा कार्यविधि सञ्चालक समितिबाट स्वीकृत गराएर मात्र लागू गर्नुपर्ने व्यवस्था गरेको छ ।

संशोधित निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाको लगानी नीतिमा लगानीको उद्देश्य तथा रणनीति, बैंकिङ बुक र ट्रेडिङ बुकमा वर्गीकरण, होल्डिङ अवधि तथा स्वार्थको द्वन्द्व व्यवस्थापनसम्बन्धी स्पष्ट व्यवस्था हुनुपर्नेछ ।

यस्तै, लगानी कारोबारमा जोखिम व्यवस्थापनका लागि दैनिक बजार मूल्यअनुसार मूल्याङ्कन, दबाब परीक्षण तथा आन्तरिक जोखिम मूल्याङ्कनलगायतका प्रणाली अनिवार्य गरिएको छ । बैंक तथा वित्तीय संस्थाले स्वीकृत लगानी नीति, कार्यविधि र लगानीसम्बन्धी विवरण तोकिएको ढाँचामा राष्ट्र बैंकको सुपरिवेक्षण विभागमा अनिवार्य रूपमा बुझाउनुपर्नेछ ।