नेप्सेमा ११.७७ अंकको वृद्धि, कारोबार साढे ५ अर्ब नजिक
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३५ करोड ८१ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सुधार भएको छ । बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ । सूचक बढेतापनि कारोबार रकम भने घटेको छ । बिहीबार ५ अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने बुधबार ६ अर्ब ३५ करोडको सेयर खरिद बिक्री भएको थियो ।
बिहीबारको बजारमा नेपाल ल्युब आयलको सेयर मूल्य सबैभन्दा धेरै १२.४७ प्रतिशतले बढेको छ। मिडसोलु हाइड्रोपावरको सेयर मूल्य ११.५८ प्रतिशत र धौलागिरि लघुवित्तको १०.१९ प्रतिशतले घटेको छ । आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३५ करोड ८१ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
बिहीबार कारोबार भएका १३ उपसमूहमध्ये १२ वटाको सूचक बढेको छ भने एउटा घटेको छ। उत्पादन तथा प्रशोधन समूहको सूचक सबैभन्दा धेरै १.८३ प्रतिशतले बढेको छ । निर्जीवन बीमा समूहको सूचक भने ०.३३ प्रतिशतले घटेको छ ।
कम्पनीतर्फ १७६ वटाको सेयर मूल्य बढेको छ भने ९५ वटाको घटेको छ। १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । बिहीबारको कारोबारपछि सेयर बजार लगातार तीन दिन बन्द हुने भएको छ। इन्द्रजात्राका अवसरमा सरकारले शुक्रबार असोज ९ गते काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ। नेप्सेको कार्यालय काठमाडौंमा रहेकाले उक्त दिन सेयर बजार पनि बन्द रहनेछ ।
