बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ: राजेश उपाध्याय
नियामक निकाय नेपाल राष्ट्र बैंकले गर्ने कारबाही, नियम परिवर्तन र कानूनी निर्णयहरू गर्दा वित्तीय क्षेत्रको संवेदनशीलतालाई विशेष ध्यान दिनुपर्ने उनको माग थियो ।
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष राजेश उपाध्यायले बैंकिङ क्षेत्र अर्थतन्त्रको ‘मुटु’ भएको बताउँदै यसलाई अत्यन्तै संवेदनशील र होशियारीपूर्वक संरक्षण (ह्यान्डल विथ केयर) गर्न राज्य र सरोकारवाला निकायसँग आग्रह गरेका छन् ।
काठमाडौंमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा अध्यक्ष उपाध्यायले देशमा व्याप्त आर्थिक मन्दी, लगानीको प्रतिकूल वातावरण, व्यवसायीहरूको खस्कँदो मनोबल र सरकारका निरन्तर नियन्त्रणमुखी निर्णयहरूका बीच वित्तीय प्रणालीमाथि अनावश्यक दबाब सिर्जना भइरहेको बताए ।
प्राकृतिक विपद् र बजार शिथिलताका कारण बैंकिङ क्षेत्र अप्ठ्यारो अवस्थामा पुगे पनि यो समस्या समाधान गर्न सकिने उनको भनाइ छ । मानव शरीरमा मुटुले रक्तसञ्चार गरेजस्तै बैंकिङ प्रणालीले अर्थतन्त्रमा पुँजीको प्रवाह (क्यास फ्लो) गराउने चर्चा गर्दै उनले मुटुमै समस्या आए सिंगो अर्थतन्त्रको शरीर नै अचेत हुने चेतावनी दिए ।
बैंकिङ प्रणाली भौतिक सम्पतीमा भन्दा पनि पूर्ण रूपमा निक्षेपकर्ताको ‘विश्वास’ (कन्फिडेन्स) मा आधारित भएर चल्ने विशिष्ट क्षेत्र भएको उनले स्मरण गराए । वित्तीय क्षेत्रको यही संवेदनशीलतालाई नजरअन्दाज गरेर बजारमा भ्रम छर्न नहुने उनको जोड थियो ।
पछिल्लो समय कतिपय राजनीतिक दलका नेताहरूबाट आउने गैरजिम्मेवार टिप्पणी, केही व्यवसायीहरूका आधारहीन आक्षेप र सञ्चारमाध्यममा आउने नकारात्मक चर्चाप्रति उनले गम्भीर चिन्ता व्यक्त गरे । नियामक निकाय नेपाल राष्ट्र बैंकले गर्ने कारबाही, नियम परिवर्तन र कानूनी निर्णयहरू गर्दा वित्तीय क्षेत्रको संवेदनशीलतालाई विशेष ध्यान दिनुपर्ने उनको माग थियो ।
लगानीमैत्री वातावरणका लागि ‘त्रासमुक्त अवस्था’ (एब्सेन्स अफ फियर) अनिवार्य हुने बताउँदै अध्यक्ष उपाध्यायले भने, ‘कन्फिडेन्स भनेको अचम्मको चिज हो । व्यवसायी र लगानीकर्ता उत्साहित भए भने केही नभएको ठाउँमा पनि शुन्यबाट नयाँ बजार सिर्जना हुन्छ । तर, विश्वास र उत्साह गुम्दा सबैथोक भए पनि केही हुँदैन ।’ कानूनको व्यावहारिक कार्यान्वयन, नीतिगत स्थिरता, लगानीको प्रतिफल सुनिश्चितता र काम गर्ने सहजताले मात्र लगानीकर्तामा आशा जगाउने उनले प्रस्ट्याए ।
निजी क्षेत्रमा बैंकहरू खुलेपछि नै नेपालमा आर्थिक रूपान्तरण सम्भव भएको स्मरण गर्दै उनले अहिलेको मन्दीलाई पार लगाउन पनि निजी क्षेत्र र बैंकहरूबीचको हातेमालो आवश्यक रहेको उल्लेख गरे ।
हाल ३० देखि ४० लाख नेपाली युवाहरूले विदेशबाट पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानेको भन्दै उनले उनीहरूको पसिनाको सम्मान गर्दै देशभित्रै लगानी र उत्पादन बढाउने नीति लिनुपर्ने खाँचो औँल्याए ।
कार्यक्रममा अध्यक्ष उपाध्यायले बैंकिङ क्षेत्रमा अहिले देखिएको समस्या ‘टर्मिनल इलनेस’ (उठ्नै नसक्ने असाध्य रोग) नभई ‘ज्वरो आएजस्तो’ मात्र भएको धारणा राखे । नेपाली अर्थतन्त्रमा कुनै संरचनात्मक क्षति नभएको दाबी गर्दै उनले सही नीतिगत मार्ग समातेर अघि बढेमा बैंकिङ प्रणाली छिट्टै पुरानै लयमा फर्किने विश्वास व्यक्त गरे ।
यसैगरी, वित्तीय क्षेत्रको तत्काल सुधारका लागि सिबिफिनले विभिन्न नीतिगत गाँठो फुकाउनुपर्ने माग अघि सारेको छ । राष्ट्र बैंक ऐनमा सञ्चालकहरूको योग्यता, उमेर हद र सामान्य कमजोरीमा हुने कारबाहीको दायरा व्यावहारिक र स्पष्ट बनाउनुपर्ने उपाध्यायले बताए। सानोतिनो त्रुटिमै अयोग्यताको डन्डा लाग्ने डरले वित्तीय क्षेत्रको नेतृत्वले आत्मविश्वासका साथ निर्णय लिन नसकेको उनको भनाइ थियो ।
त्यस्तै, अर्थतन्त्रको मन्दीका कारण कर्जा जोखिम बढेको अवस्थामा ५ प्रतिशतभन्दा माथिको कर्जा नोक्सानी व्यवस्था (लोन लस प्रोभिजनिङ) मा लाग्ने करको अतिरिक्त भार हटाउन उनले माग गरे । यस्तो करको अन्तिम भार बैंकलाई मात्र नभएर जनताकै पैसामा पर्ने भएकाले नीति निर्माताहरू गम्भीर हुनुपर्ने उनले बताए । बैंकहरूमा थुप्रिँदै गएको गैर-बैंकिङ तथा खराब सम्पत्ति (डिस्ट्रेस्ड एसेट) व्यवस्थापन गर्न घोषित ‘एसेट म्यानेजमेन्ट कम्पनी’ को स्थापना प्रक्रिया पुस मसान्तभित्रै टुंगोमा पुर्याउन उनले सरकारसँग आग्रह गरे ।
हालैको बाढीपहिरोले बैंकका ऋणीहरूको व्यवसाय र सम्पत्तिमा गम्भीर क्षति पुर्याएको भन्दै अध्यक्ष उपाध्यायले उनीहरूको कर्जा भुक्तानीमा ठूलो समस्या आउने बताए । यद्यपि, निक्षेपकर्ताको रकम शतप्रतिशत सुरक्षित रहेको आश्वस्त पार्दै उनले प्रभावित ऋणीहरूलाई राहत दिन राष्ट्र बैंक र बैंकहरू मिलेर कर्जा पुनर्संरचनामार्फत तत्काल निकास दिनुपर्ने धारणा राख्नुभयो। नेपालको अर्थतन्त्रमा अथाह सम्भावना रहेको भन्दै अध्यक्ष उपाध्यायले नियन्त्रणमुखी सोच त्यागेर सबै मिलेर विश्वासको वातावरण बनाउन आग्रह गरे ।
