विधि विज्ञान प्रयोगशाला सञ्चालक समिति सदस्यको योग्यतामा स्नातकोत्तर अनिवार्य गर्नुर्पछः तोषिमा कार्की
उनले स्नातक तह उत्तिर्ण गरेका व्यक्तिलाई १० वर्ष, स्नातकोत्तर गरेकालाई ५ वर्ष र विद्यावारिधि (पीएचडी) गरेका व्यक्तिलाई ३ वर्षको अनुभव आवश्यक पर्ने प्रावधानमाथि आफ्नो धारणा राखिन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोषिमा कार्कीले प्रयोगशाला सञ्चालक समितिका सदस्यहरूको योग्यतामा परिमार्जन गर्न प्रस्ताव गरेकी छन् । बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले विशेषज्ञको मापदण्ड तोक्दा स्नातक तहलाई मात्र आधार मान्न नहुने स्पष्ट पारेकी हुन् ।
बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल भएको थियो । सांसद डा. कार्कीले विधेयकमा प्रश्तावित अनुभवको अवधि र शैक्षिक योग्यताको ढाँचामा सुधार आवश्यक रहेको औँल्याइन् । उनले स्नातक तह उत्तिर्ण गरेका व्यक्तिलाई १० वर्ष, स्नातकोत्तर गरेकालाई ५ वर्ष र विद्यावारिधि (पीएचडी) गरेका व्यक्तिलाई ३ वर्षको अनुभव आवश्यक पर्ने प्रावधानमाथि आफ्नो धारणा राखिन् ।
उनले ‘विशेषज्ञ’ र ‘विज्ञ’ बीचको भिन्नता स्पष्ट पार्नुपर्ने आवश्यकतामाथि पनि जोड दिइन् । उनले विद्यावारिधि तहलाई ‘सुपर स्पेसलाइजेसन’को रूपमा अथ्र्याउँदै स्नातकोत्तर तहभन्दा माथिका योग्यतालाई थप प्राथमिकतामा राख्न सकिने बताइन् ।
