दुई महिनामै पौने ५ खर्बको वैदेशिक व्यापार, निर्यातमा ६२ प्रतिशतको वृद्धि
भन्सार विभागका अनुसार गत वर्षको सोही अवधिको तुलनामा कुल व्यापार ३५.६४ प्रतिशतले बढेको हो ।
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामै नेपालको वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब १० करोड रुपैयाँ नाघेको छ । भन्सार विभागका अनुसार गत वर्षको सोही अवधिको तुलनामा कुल व्यापार ३५.६४ प्रतिशतले बढेको हो ।
यस अवधिमा आयात ३१.५८ प्रतिशतले बढेर ४ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ भने निर्यातमा अझ तीव्र वृद्धि देखिएको छ । निर्यात ६१.८६ प्रतिशतले बढेर ७६ अर्ब ५८ करोड रुपैयाँ पुगेको विभागको तथ्याङ्क छ ।
निर्यातको हिस्सा पनि कुल वैदेशिक व्यापारमा १३.४२ प्रतिशतबाट बढेर १६.०२ प्रतिशत पुगेको छ । यद्यपि आयातको तुलनामा निर्यात अझै निकै कम रहेकाले व्यापार घाटा ३ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।
यसबीच आयात–निर्यात अनुपातमा भने सुधार आएको छ। गत वर्ष प्रत्येक १ रुपैयाँको निर्यात बराबर ६ रुपैयाँ ४५ पैसाको आयात हुने गरेकोमा यस वर्ष यो अनुपात घटेर ५ रुपैयाँ २४ पैसामा आएको छ ।
समग्रमा व्यापारको आकार र निर्यात दुवै बढे पनि नेपालको वैदेशिक व्यापारमा आयातको निर्भरता र ठूलो व्यापार घाटा अझै चुनौतीकै रूपमा देखिएको छ ।
