हुन्डाईले ६ महिनाभित्र दुई नयाँ एसयूभी ल्याउँदै , एक पेट्रोल र एक इलेक्ट्रिक
हुन्डाई बेयोनलाई क्रेटाभन्दा सस्तो विकल्पका रूपमा बजारमा उतार्ने तयारी गरिएको छ । भारतीय बजारमा यो एसयूभीले मारुती सुजुकी भिक्टोरिससँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।
काठमाडौं । हुन्डाई मोटर इन्डियाले आगामी ६ महिनाभित्र दुई नयाँ एसयूभी बजारमा ल्याउने तयारी गरेको छ। कम्पनीले बेयोन र कोडनेम एचईवानआई नाम दिइएको कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्ने तयारी गरेको हो ।
हुन्डाई बेयोनलाई क्रेटाभन्दा सस्तो विकल्पका रूपमा बजारमा उतार्ने तयारी गरिएको छ । भारतीय बजारमा यो एसयूभीले मारुती सुजुकी भिक्टोरिससँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।
बेयोनमा १.५ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन उपलब्ध हुने सम्भावना छ। पेट्रोल भर्सनमा ६–स्पिड म्यानुअल वा सीभीटी गियरबक्स तथा सीएनजी भर्सनमा म्यानुअल गियरबक्स उपलब्ध हुन सक्ने बताइएको छ । यसमा डिजेल इन्जिन भने नआउने सम्भावना छ ।
स्पाइ तस्बिरअनुसार बेयोनमा स्प्लिट हेडलाइट, ‘एच’ आकारको डीआरएल, ठूलो ह्विल आर्च, पुल–टाइप डोर ह्यान्डल, डुअल–टोन एलोय ह्विल, एलईडी टेललाइट र रूफ–माउन्टेड स्पोइलर रहने सम्भावना छ ।
इन्टेरियरमा कर्भ्ड डुअल–स्क्रिन सेटअप र तीन–स्पोक स्टेयरिङ ह्विल दिइने अपेक्षा गरिएको छ। यसमा वायरलेस फोन चार्जर, भेन्टिलेटेड फ्रन्ट सिट, सनरुफ, ३६० डिग्री क्यामेरा र लेभल–टु एडीएएसजस्ता फिचर पनि उपलब्ध हुन सक्नेछन् ।
यसैगरी, हुन्डाईले एचईवानआई नामको कम्प्याक्ट इलेक्ट्रिक एसयूभी पनि ल्याउने तयारी गरेको छ । यो कम्पनीको सबैभन्दा सस्तो इलेक्ट्रिक एसयूभी बन्न सक्ने अनुमान गरिएको छ। यसको मुख्य प्रतिस्पर्धीका रूपमा टाटा पन्च ईभी, नेक्सन ईभी, किया साइरोस ईभी र महिन्द्रा एक्सयूभी थ्रीएक्सओ ईभीलाई हेरिएको छ ।
एचईवानआईमा स्ट्यान्डर्ड रेन्ज र लङ रेन्ज गरी दुई भेरियन्ट आउने सम्भावना छ। यसमा ४२ किलोवाट–आवर र ४९ किलोवाट–आवर क्षमताका ब्याट्री प्रयोग हुन सक्नेछन् । यी ब्याट्रीले क्रमशः करिब ३२७ किलोमिटर र ३७० किलोमिटरसम्मको रेन्ज दिन सक्ने अनुमान गरिएको छ ।
रिपोर्टअनुसार हुन्डाईले सुरुमा उक्त इलेक्ट्रिक एसयूभीमा एक्साइडका ब्याट्री प्रयोग गर्ने योजना बनाएको थियो । तर उत्पादनमा ढिलाइ भएपछि एसभीओएलटीका सेल प्रयोग गर्ने सम्भावना रहेको बताइएको छ। हुन्डाईले आफ्नो नयाँ पुस्ताको इन्फोटेनमेन्ट सिस्टमसमेत पहिलोपटक प्रयोग गर्ने तयारी गरेको छ ।
