बाढीपछि नेपालको पुनर्निर्माणका लागि अमेरिकाले थप ३ करोड १० लाख डलर सहयोग गर्ने

विज्ञापन
ncell

अमेरिकाले बाढीबाट सबैभन्दा बढी प्रभावित तथा सहयोगको आवश्यकता रहेका क्षेत्र पहिचान गरी त्यहाँ सहायता पुर्‍याउन नेपाल सरकारसँग निकट सहकार्य जारी राख्ने जनाएको छ ।

काठमाडौं । अमेरिकाले भोटेकोशी–त्रिशूली बाढीपछि नेपालको पुनर्निर्माणका लागि थप ३ करोड १० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ ।

न्युयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनाल र राजनीति मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरबीच भएको भेटवार्ताका क्रममा हुकरले थप सहयोगको घोषणा गरेकी हुन् ।

अमेरिकी दूतावासका अनुसार नयाँ सहयोगसँगै नेपालमा बाढीसम्बन्धी प्रतिकार्य तथा पुनर्निर्माणका लागि अमेरिकाको कुल सहयोग ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी पुगेको छ ।

भेटवार्ताका क्रममा उपविदेशमन्त्री हुकरले हाल बेपत्ता रहेका करिब ७० जना अमेरिकी नागरिकका परिवारसहित विनाशकारी बाढीबाट प्रभावित सबैप्रति अमेरिकाको सहानुभूति व्यक्त गरिन् ।

अमेरिकाले बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि आवश्यकताअनुसार निर्माण गरिने स्थायी पुलका लागि १ करोड डलर उपलब्ध गराउने योजना बनाएको छ । ती पुल अमेरिकी कम्पनीबाट खरिद गरिने र बाढी प्रभावित क्षेत्रमा यातायात पूर्वाधार पुनर्निर्माण तथा क्षेत्रीय कनेक्टिभिटी सुदृढ गर्न सहयोग पुग्ने अमेरिकी पक्षले जनाएको छ ।

त्यस्तै, बाढी प्रभावित समुदायका लागि खानेपानी, स्वच्छता तथा सरसफाइ, आश्रय, सुरक्षा, जीविकोपार्जन र जाडोयाममा आवश्यक पर्ने सहयोगका लागि थप ८० लाख डलर उपलब्ध गराउने योजना रहेको हुकरले बताइन् ।

यसैगरी, भविष्यमा विपद्पछिको पुनर्निर्माण कार्यमा अझ प्रभावकारी रूपमा सहयोग पुर्‍याउन अमेरिकामा निर्मित ड्रोनका लागि १ करोड ३० लाख डलर उपलब्ध गराउने योजना पनि अमेरिकाले अघि सारेको छ ।

अमेरिकाले बाढीबाट सबैभन्दा बढी प्रभावित तथा सहयोगको आवश्यकता रहेका क्षेत्र पहिचान गरी त्यहाँ सहायता पुर्‍याउन नेपाल सरकारसँग निकट सहकार्य जारी राख्ने जनाएको छ ।