सरकार कानून निर्माणको प्रक्रियालाई गति दिन तयार छः मन्त्री गौतम
विकास निर्माणमा रेजिलियन्ट (लचिलो) मोडल अपनाउनुपर्ने र त्यसका लागि सरकार दृढ रहेको जिकिर गरिन् ।
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सरकार कानून निर्माणको प्रक्रियालाई गति दिन तयार रहेको बताएकी छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा राष्ट्रिय क्षेत्राधिकार बाहिरको सामुन्द्रिक जैविक विविधताको संरक्षण र दिगो उपयोगसम्बन्धी (बिबिएनजे) सम्झौतामाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएकी हुन्।
मन्त्री गौतमले पछिल्ला प्राकृतिक विपत्तिहरूलाई मध्यनजर गर्दै विकासको मोडल पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याइन् । उनले विपद्लाई केन्द्रमा राखेर कानून निर्माण गर्नु आजको आवश्यकता भएको उल्लेख गरिन् । विकास निर्माणमा रेजिलियन्ट (लचिलो) मोडल अपनाउनुपर्ने र त्यसका लागि सरकार दृढ रहेको जिकिर गरिन् ।
मन्त्री गौतमले आदिवासीका मौलिक ज्ञान र स्थानीय सीपलाई कानून निर्माणमा समेट्ने प्रतिवद्धतासमेत व्यक्त गरिन् ।
