सात अंकले बढ्यो नेप्से, कारोबार रकम पनि ७ अर्ब नाघ्यो
मिड सोलु हाइड्रोपावरको सेयर आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु आकर्षित भएका हुन् ।
काठमाडौँ । आज सेयर बजार बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको सेयर बजार परिसुचक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । मंगलबार नेप्से परिसूचक ७.०६ अंक बढेर २६५४.२८ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.७१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंक बढेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ६ अर्ब ७४ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ७ अर्ब ५ करोड ३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । मिड सोलु हाइड्रोपावरको सेयर आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु आकर्षित भएका हुन् । त्यस्तै, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब ८ प्रतिशत बढेको छ । कारोबारमा आएको स्नो रिभर्सको सेयरमूल्य आज सर्वाधिक ८.२३ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा हाथवे इन्भेष्टमेन्ट नेपाल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४४ करोड ४० लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिष्टिलरीको करिब साढे ४० करोड रुपैयाँको सेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये सात उपसमूहको परिसूचक बढेको छ भने छ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.३६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।
आज कारोबारमा आएका मध्य १३७ कम्पनीको मूल्य बढेको छ भने १३१ कम्पनीको घटेको छ त्यस्तै ११ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
