संसद्मै रोइन् जेनजी शहीदकी आमा, भनिन्- छोराको लाससँग सांसद पद साटेको भन्ने टिप्पणीले विक्षिप्त छु
खतिवडाले आफूलाई सांसद पदभन्दा छोराको जीवन महत्वपूर्ण रहेको बताउँदै आज पनि आफ्नो छोरो जीवित भएर फर्काइदिने हो भने सांसद पदबाट तत्काल राजीनामा दिन तयार रहेको धारणा राखिन् ।
काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा प्रतिनिधिसभाको बैठकमै भावुक हुँदै रोएकी छन् । छोराको मृत्यु र त्यसपछि आफू राजनीतिमा आएको विषयलाई लिएर सामाजिक सञ्जालमा भइरहेको आलोचनाप्रति उनले दुःख व्यक्त गरिन् ।
खतिवडाले आफूले छोराको मृत्युको बदलामा सांसद पद रोजेको भन्ने किसिमका अपमानजनक टिप्पणीले आफू अत्यन्तै पीडित भएको बताइन् । उनले भनिन्, ‘फेसबुकमा आफ्नो छोराको लासमाथि सांसद पद साटेकी भनेर अपमानजनक टिप्पणी सुन्दा म विक्षिप्त छु । मेरो संसार नै मेरो छोरो थियो।’
आफू स्वेच्छाले राजनीतिमा नआएको स्पष्ट पार्दै खतिवडाले छोराको न्यायका लागि राजनीतिमा आएको बताइन् । उनका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले पटक–पटक राजनीतिमा आउन आग्रह गरेपछि आफू राजनीतिमा आएको र यसमार्फत छोराले न्याय पाउने आशा गरेको बताइन् ।
उनले भावुक हुँदै भनिन्, ‘म आफ्नो खुसीले राजनीतिमा आएकी होइन । प्रधानमन्त्री बालेन शाहले राजनीतिमा आउन पटक–पटक कर गरेपछि यहाँ आएँ । छोराको न्याय पाउँछु कि भनेर राजनीतिमा आएकी हुँ।’
खतिवडाले आफूलाई सांसद पदभन्दा छोराको जीवन महत्वपूर्ण रहेको बताउँदै आज पनि आफ्नो छोरो जीवित भएर फर्काइदिने हो भने सांसद पदबाट तत्काल राजीनामा दिन तयार रहेको धारणा राखिन् । ‘आज पनि कसैले मेरो छोरो जिउँदो मेरो काखमा राखिदिन्छ भने म सांसद पदबाट भर्खरै राजीनामा दिन तयार छु,’ उनले भनिन् ।
