जेनजी आन्दोलनमा क्षतिग्रस्त भाटभटेनीको टंगाल स्टोर आजदेखि खुल्यो
सोमबार बिहान १० बजेदेखि टंगालस्थित स्टोरले औपचारिक रूपमा आफ्नो सेवा सुरु गरेको हो । पुनः सञ्चालनको अवसरमा भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ स्वयं उपस्थित भएका थिए ।
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर पुनर्निर्माणपछि पुनः सञ्चालनमा आएको छ ।
सोमबार बिहान १० बजेदेखि टंगालस्थित स्टोरले औपचारिक रूपमा आफ्नो सेवा सुरु गरेको हो । पुनः सञ्चालनको अवसरमा भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ स्वयं उपस्थित भएका थिए ।
भदौ २४ गतेको आन्दोलनका क्रममा आगजनीका कारण भाटभटेनीका १२ वटा स्टोरमा क्षति पुगेको थियो । तीमध्ये टंगालसहित १० वटा स्टोरको पुनर्निर्माण सम्पन्न भई पुनः सञ्चालनमा आइसकेको कम्पनीले जनाएको छ । बाँकी दमक र हेटौंडास्थित स्टोरको पुनर्निर्माणसमेत अन्तिम चरणमा पुगेको बताइएको छ ।
पुनर्निर्माणपछि स्टोर सञ्चालनमा ल्याउँदै अध्यक्ष मीनबहादुर गुरूङले कठिन परिस्थितिबाट पनि कम्पनीलाई पुनः उभ्याउने प्रयास जारी रहेको बताए । उनले ‘खरानीबाट फेरि उठ्ने’ अठोटका साथ अघि बढेको उल्लेख गर्दै संकटका बीच पनि भाटभटेनीमा कार्यरत १० हजारभन्दा बढी कर्मचारीलाई रोजगारीबाट अलग नगरिएको बताए ।
कम्पनीले गत वर्षको दसैं बोनससमेत कर्मचारीलाई उपलब्ध गराएको गुरुङले जानकारी दिए । उनले पुनर्निर्माणको काममा चौबीसै घण्टा खटिएका कर्मचारी, ग्राहक तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा ग्राहकलाई आधुनिक सुविधा र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । भाटभटेनीले बाँकी क्षतिग्रस्त स्टोरहरूको पुनर्निर्माण पनि छिट्टै सम्पन्न गरी नियमित सेवा सञ्चालनमा ल्याउने जनाएको छ ।
